व्यापारमा आक्रामक देखिएको ‘लालीबजार’ को गीत ‘साहारा तिमी छौ’ सार्वजनिक



काठमाडौं – गत वैशाख २५ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनरत चलचित्र ‘लालीबजार’ ले बक्सअफिसमा उत्साहजनक व्यापार गरिरहेको छ। निर्माण पक्षका अनुसार यस चलचित्रले गत शनिबारसम्ममै ५ करोड ७६ लाख रुपैयाँको व्यावसायिक आँकडा पार गरिसकेको छ भने प्रदर्शनको यस सातासम्ममा कुल ग्रस कलेक्सन ८ करोडको हाराहारीमा पुग्ने प्रक्षेपण गरिएको छ।

यसै व्यावसायिक सफलताको मेसो पारेर निर्माण कम्पनी षट्कोण आर्ट्सले चलचित्रमा समावेश मर्मस्पर्शी गीत ‘साहारा तिमी छौँ’ को भिडियो सार्वजनिक गरेको छ। आमा र छोरीको गहिरो प्रेम, सङ्घर्ष र उनीहरूबीचको भावनात्मक सम्बन्धलाई सम्मान (ट्रिब्युट) स्वरूप यो भिडियो दर्शकमाझ ल्याइएको हो। यसअघि लिरिकल भर्सनमा समेत अत्यधिक रुचाइएको यस गीतको भिडियोले पनि दर्शकको मन छुने निर्माण पक्षको विश्वास छ। भिडियोमा चलचित्रकी मुख्य अभिनेत्री स्वस्तिमा खड्काका साथै समाइरा थापा र प्रशंसा सुवेदीको जीवन्त अभिनय देख्न सकिन्छ।

विशेषगरी चलचित्रको मूल कथासारलाई नै झल्काउने यस गीतमा जयन जे वाइवाको मर्मस्पर्शी शब्द रचना तथा सङ्गीत रहेको छ भने गायिका समीक्षा अधिकारीले आफ्नो सुमधुर स्वर भरेकी छन्। यसका साथै गीतमा दिलिजा रुवाली, अलिशा शर्मा र पूर्णिमा तामाङको बाल गायन तथा गुराँस ठकुरी र गायत्री राना मगरको कोरस गायन समावेश छ। भिडियोले एउटी आमाले आफ्नी छोरीलाई हुर्काउन गर्ने असीमित सङ्घर्ष र समर्पणलाई निकै कलात्मक ढङ्गले प्रस्तुत गरेको छ।

बर्दियाको राजापुरमा सम्पूर्ण छायांकन गरिएको ‘लालीबजार’ मा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, प्रदीप ढकाल, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी लगायतका थुप्रै कलाकारहरूको बलियो उपस्थिति रहेको छ। यसै चलचित्रमार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले नेपाली रजतपटमा सानदार डेब्यु गरेका छन्।

यम थापाको निर्देशन रहेको यस चलचित्रको पटकथा तथा संवाद निर्देशक थापा र अर्का सफल निर्देशक प्रदीप भट्टराईले संयुक्त रूपमा तयार पारेका हुन्। चलचित्रको कार्यकारी निर्मातामा प्रदीप भट्टराई छन् भने निर्माताको जिम्मेवारी म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँले सम्हालेका छन्। चलचित्रको प्राविधिक पक्षतर्फ जेबी रुवाली क्रिएटिभ निर्देशक, सुशन प्रजापति छायांकार, मित्रदेव गुरुङ सम्पादक र सम्राट बस्नेत द्वन्द्व निर्देशक रहेका छन्। त्यसैगरी, प्रोडक्सन हेडमा रुपकप्रताप अधिकारी, कलरिस्टमा रेनिश फागो, भिएफएक्समा समिर श्रेष्ठ र सत्यम राना, पब्लिसिटी डिजाइनमा रोयल भीमसेन, कस्ट्युम डिजाइनमा जानकी कडायत र मेकअपमा काव्या थापा रहेका छन्। प्रकाश सपुत, खेम सेञ्चुरी र जयन जे वाइवाको साङ्गीतिक सिर्जना रहेको यस चलचित्रमा रोहित शाक्य र शैलेश श्रेष्ठको पार्श्व सङ्गीत सुन्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu