एउटै मञ्चमा दुर्गेशदेखि टीका सानु सम्म हुने, दृष्टिविहीन कलाकारलाई बर्सेनि सहयोगको घोषणा



काठमाडौं – राजधानीको दरबारमार्गस्थित मायालु कम्प्लेक्समा सञ्चालित ‘दरबार रोधी क्लब’ले आफ्नो १८औँ वार्षिकोत्सवलाई सांगीतिक मनोरञ्जन र सामाजिक उत्तरदायित्वको उत्कृष्ट संगम बनाउने भएको छ। आगामी जेठ २९, ३० र ३१ गते आयोजना हुन गइरहेको तीन दिने विशेष सांगीतिक महोत्सवमा चर्चित गायक तथा मोडल दुर्गेश थापादेखि लोकप्रिय लोकदोहोरी गायिका टीका सानुसम्मका दर्जनौँ स्थापित कलाकारहरूले एउटै मञ्चबाट दर्शकलाई सांगीतिक मनोरञ्जन प्रदान गर्दैछन्।

सांगीतिक उल्लासका साथसाथै क्लबले यस विशेष अवसरमा परोपकारी कार्यलाई पनि उच्च प्राथमिकतामा राखेको छ। क्लबका सञ्चालक सुनिल कुँवरले हालै लोकप्रिय टेलिभिजन कार्यक्रम ‘इन्द्रेणी’को मञ्चमा पुगेर दृष्टिविहीन कलाकारहरूको संघलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेका छन्। सम्पूर्ण कलाकार र कर्मचारीहरूको निरन्तरको अथक मिहिनेतले नै संस्था १८औँ वर्षको सुखद बिन्दुमा आइपुगेको स्मरण गर्दै सञ्चालक कुँवरले अब उप्रान्त हरेक वर्षको वार्षिकोत्सवमा संस्थाको आम्दानीको केही हिस्सा छुट्याएर सडकमा सङ्घर्षरत तथा दृष्टिविहीन कलाकारहरूलाई न्यूनतम ५० हजार रुपैयाँ सहयोग गर्ने परोपकारी घोषणा समेत गरेका छन्।

वार्षिकोत्सवको अवसरमा आयोजना हुने यस भव्य सांगीतिक मेलाको पहिलो दिन (जेठ २९ गते) वरिष्ठ गायक प्रेम राजा महत, राजु परियार, दुर्गेश थापा, कृष्ण कँडेल, श्याम राना, दीपिका बयम्बु र सञ्चिता बोलाखेले आफ्नो विशेष प्रस्तुति दिने तय भएको छ। त्यसैगरी, दोस्रो दिन (जेठ ३० गते) रामजी खाँण, प्रीति आले र शान्त रानी परियारको सांगीतिक प्रस्तुति रहनेछ भने अन्तिम दिन (जेठ ३१ गते) विश्व दोङ र टीका सानुले दर्शकलाई भरपुर सांगीतिक मनोरञ्जन प्रदान गर्नेछन्। तीनै दिन बेलुका ७ बजेदेखि भोलिपल्ट बिहान ४ बजेसम्म सञ्चालन हुने यस उत्सवमा सहभागी हुने दर्शकहरूका लागि विशेष छुट र आकर्षक सहुलियतको समेत व्यवस्था गरिएको सञ्चालक कुँवरले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu