लुम्बिनीको प्रवेशद्वार भैरहवामा अत्याधुनिक ‘आईएनआई सिनेमाज’ सञ्चालनमा : दर्शकलाई अन्तर्राष्ट्रियस्तरको प्रविधि र सुविधा



काठमाडौं – रुपन्देहीको सिद्धार्थनगर (भैरहवा) स्थित भाटभटेनी सुपरस्टोरमा अत्याधुनिक प्रविधि र सुविधायुक्त ‘आईएनआई सिनेमाज’ सञ्चालनमा आएको छ। भाटभटेनीको पाँचौँ तलामा निर्माण गरिएको यस नयाँ मल्टिप्लेक्सले गत शुक्रबारदेखि औपचारिक रूपमा दर्शकहरूलाई सेवा दिन थालेको हो। बुद्ध जन्मस्थल लुम्बिनीको मुख्य प्रवेशद्वारका रूपमा चिनिने भैरहवामा पछिल्लो समय पर्यटन, व्यापार र हस्पिटालिटी क्षेत्रको तीव्र विकास भइरहेको परिप्रेक्ष्यमा, आईएनआई सिनेमाजको प्रवेशले स्थानीय स्तरमा आधुनिक मनोरञ्जनको उत्कृष्ट पूर्वाधार थपेको छ।

यस मल्टिप्लेक्सका संरक्षक तथा व्यवसायी दीपक कुँवरले भैरहवाको बढ्दो व्यावसायिक र पर्यटकीय सम्भावनालाई मध्यनजर गर्दै आधुनिक सिनेमा हलको आवश्यकता महसुस गरी यसमा लगानी गरिएको बताए। यस कदमले स्थानीय दर्शकलाई गुणस्तरीय मनोरञ्जन प्रदान गर्नुका साथै रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्रको प्रवर्द्धनमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याउने उनको विश्वास छ। त्यसैगरी, कम्पनीका निर्देशक आभाष कुँवरले आफूले विदेशमा सिकेको सीप र अनुभवलाई स्वदेशमै उपयोग गर्दै युवा पुस्तालाई नेपालमै प्रशस्त अवसरहरू छन् भन्ने सकारात्मक सन्देश दिन यो मल्टिप्लेक्स सञ्चालनमा ल्याइएको स्पष्ट पारे।

पूर्ण रूपमा अन्तर्राष्ट्रिय मापदण्डमा तयार गरिएको यस सिनेमा हलमा दुईवटा अत्याधुनिक अडिटोरियम (पर्दा) रहेका छन्। हल सञ्चालक सुरेन्द्र थापाका अनुसार प्रत्येक अडिटोरियममा १९८ जना दर्शक क्षमता रहेको छ, जसले गर्दा एकैपटक ३९६ जनाले सिनेमाको मज्जा लिन सक्नेछन्। दर्शकलाई उत्कृष्ट दृश्य र ध्वनिको अनुभव दिलाउन बेल्जियममा निर्मित बार्को लेजर प्रोजेक्टर र १६ च्यानलको ‘डीटीएस-एक्स इमर्सिभ साउन्ड सिस्टम’ जडान गरिएको छ। मनोरञ्जनका साथै सुरक्षालाई समेत उच्च प्राथमिकतामा राख्दै हलमा आगलागी प्रतिरोधी सामग्रीको प्रयोग, सुरक्षित र फराकिलो आकस्मिक निकास (इमर्जेन्सी एक्जिट) लगायतका सम्पूर्ण आधुनिक सुरक्षा पूर्वाधारहरू तयार गरिएको छ।

सन् २०१९ देखि नेपाली चलचित्र प्रदर्शन व्यवसायमा प्रवेश गरेको आईएनआई सिनेमाजले काठमाडौं, बुटवल, सिमरा र नवलपुरपछि भैरहवामा आफ्नो सेवा विस्तार गरेको हो। यो नयाँ शाखा थपिएसँगै देशभर कम्पनीका कुल स्क्रिन सङ्ख्या १३ पुगेको छ। टिकट खरिद प्रक्रियालाई सहज र प्रविधिमैत्री बनाउँदै कम्पनीको आधिकारिक वेबसाइट र अन्य डिजिटल भुक्तानीका माध्यमबाट घरमै बसेर टिकट बुकिङ गर्न सकिने व्यवस्था मिलाइएको छ। भैरहवामा सञ्चालनमा आएको यस सुविधायुक्त मल्टिप्लेक्सले भैरहवा, तिलोत्तमा, बुटवललगायत समग्र लुम्बिनी प्रदेशको मनोरञ्जन र पर्यटन उद्योगलाई थप ऊर्जावान् बनाउने अपेक्षा व्यवस्थापन पक्षले राखेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu