९ करोड क्लबमा प्रवेश गर्दै ‘लालीबजार’ बन्यो वर्ष २०८३ कै सर्वाधिक सफल चलचित्र



काठमाडौं- गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘लालीबजार’ले घरेलु बक्सअफिसमा ब्लकबस्टर व्यापार गर्दै नयाँ व्यावसायिक सफलता चुमेको छ। यस चलचित्रले घरेलु बजारमा ९ करोड रुपैयाँभन्दा बढीको उत्कृष्ट व्यापार गर्दै चालु आर्थिक वर्ष २०८३ मा हालसम्मकै सर्वाधिक कमाइ गर्ने नेपाली सिनेमाको ताज पहिरिन सफल भएको छ।

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार ‘लालीबजार’ ले गत जेठ २४ गतेसम्ममा नै ८ करोड ७८ लाख ५ हजार १९८ रुपैयाँ ग्रस कलेक्सन गरिसकेको थियो। उक्त अवधिसम्ममा सिनेमाका कुल २ लाख ९८ हजार २२७ वटा टिकट बिक्री भएका थिए। बोर्डले सार्वजनिक गरेको यो तथ्यांक आइतबारसम्मको मात्र भएकाले मङ्गलबारसम्म आइपुग्दा चलचित्रको कुल व्यापारले ९ करोडको ऐतिहासिक आँकडा सहजै पार गरिसकेको निर्माण पक्षले जनाएको छ।

नायिका स्वस्तिमा खड्काको केन्द्रीय भूमिका रहेको यस चलचित्रमा रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ र अभय बराललगायतका कलाकारहरूको सशक्त अभिनय रहेको छ। यसै चलचित्रमार्फत नेपाली रजतपटमा पाइला राखेका नवप्रवेशी कलाकारद्वय विशाल देवकोटा र प्रशंसा सुवेदीले पनि आफ्नो पहिलो प्रस्तुतिबाटै दर्शकहरूको मन जित्न सफल भएका छन्। करिब नौ वर्ष लामो रंगमञ्चको अनुभव बटुलेर ठूलो पर्दामा डेब्यु गरेका विशालले आफ्नो पहिलो सिनेमा नै व्यावसायिक रूपमा ब्लकबस्टर भएपछि वर्षौँको मिहिनेतको मीठो प्रतिफल प्राप्त भएको सुखद अनुभूति व्यक्त गरेका छन्। सिनेमामा उनले निर्वाह गरेको ‘नारायण’ नामक चरित्रले शिक्षाको महत्त्वलाई प्रभावकारी ढङ्गले बुझाउने भएकाले दर्शकहरूले उक्त पात्रलाई विशेष रूपमा रुचाएका छन्।

षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको ‘लालीबजार’ लाई यम थापाले निर्देशन गरेका हुन्। चलचित्रको कार्यकारी निर्माताका साथै पटकथा लेखनको महत्त्वपूर्ण जिम्मेवारी स्थापित सिनेकर्मी प्रदीप भट्टराईले सम्हालेका छन् भने म्याक्स दीपेश खत्री यसका निर्माता हुन्। त्यसैगरी, प्राविधिक पक्षतर्फ सुशन प्रजापतिको उत्कृष्ट छायांकन रहेको यस चलचित्रलाई मित्रदेव गुरुङले सम्पादन गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu