चलचित्र पत्रकार संघद्वारा वोर्ड अध्यक्ष राईलाई वधाई तथा सम्मान
ठुलोपर्दा डटकम, काठमाण्डौ।
केहि दिन अगाडी मात्र चलचित्र विकास वोर्डको अध्यक्षमा नियुक्त भएका राजकुमार राईलाई शुक्रबार चलचित्र पत्रकार संघले बधाई तथा सम्मान गरेको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि चलचित्र पत्रकार संघले अध्यक्ष राईलाई वधाई तथा शुभकामना दिएको हो ।
वधाई तथा शुभकामना पश्चात कार्यक्रममा बोल्दै अध्यक्ष राईले आफुबाट चलचित्रक्षेत्रले केहि नयाँ कुराको आश गर्नु स्वभाविक रहेको बताए । उनले भने -‘अहिले बक्स अफिस लागू गर्नु पर्ने म माथि चुनौती छ र त्यो चुनौतीलाई म साकार गरेरै छोड्छु ।’ उनले अगाडी भने -‘चलचित्र सम्बन्धी समाचार लेख्ने पत्रकारहरुका लागी पनि बोर्डले केहि नयाँ योजनाहरु ल्याउदैं छ र बक्स अफिस राखेपछि वितरक, निर्माता, प्रदर्शक, समिक्षकको एउटा समिती बनाइने छ र उक्त समितिमा पत्रकारहरुलाई पनि अटाउने छौं ।’
‘मेरो ‘नियुक्तिले फेरि एकपटक विशुद्ध रूपमा एउटा चलचित्रकर्मीले सम्मान पाएको छ र सरकारले बोर्ड केवल चलचित्र क्षेत्रको विकास र विस्तारका लागि गठन भएको हो र बोर्डमा चलचित्रकर्मी नै हुनुपर्छ भन्ने कुरा सञ्चारमन्त्रीज्यूले पनि प्रमाणित गरिदिनुभएको छ’ अध्यक्ष राईले अगाडी भने -‘म पहिलेदेखि नै नेपाली चलचित्र क्षेत्रको विकास र विस्तारमा लाग्दै आएको छु । अब पनि मेरो धर्म यही हो । अब चर्चामा रहेको र चलचित्रकर्मीको पक्षमा रहेको बक्सअफिसलाई अगाडि बढाउँछु ।’
चलचित्र पत्रकार संघले गरेको वधाई तथा शुभकामनामा पत्रकार संघका अध्यक्ष शान्ति प्रियले अध्यक्ष राईलाई सम्मान गरेका थिए । सम्मान पश्चात कार्यक्रममा बोल्दै पत्रकार संघका अध्यक्ष शान्ति प्रियले चलचित्र पत्रकार संघले पनि अध्यक्ष राईबाट पत्रकारहरुको हकहितको विषयमा वोर्डको सहयोगको अपेक्षा लिएको पनि बताए ।