“नाईँ नभन्नू ल ४” को ट्रेलर सार्वजनिक (भिडियो



ठुलोपर्दा डटकम, काठमाण्डौ।
चैत २६ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र “नाईँ नभन्नू ल ४” को ट्रेलर र एक गीत सार्वजनिक गरिएको छ । दर्शकहरुको बहुप्रतिक्षित चलचित्र “नाईँ नभन्नू ल ४” को सोमबार राजधानीमा एक कार्यक्रमका बिच चलचित्र यूनिटले ट्रेलर र एक गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीत भने दर्शकहरुले चलचित्र हलमा मात्र हेर्न पाउने निर्माणपक्षले जानकारी दिएको छ ।

सार्वजनिक ट्रेलरमा भने विशेषत लभस्टोरी पाटोलाई उठाइएको छ भने एक दृश्यमा चलचित्रका नायक पल शाह एक्शन अवतारमा पनि प्रस्तुत भएका छन् । म्युजिक भिडियोमा निकै रुचाइएको पलले यो चलचित्रमा नव नायिका बर्षा राउत र आँचल शर्मासँग रोमान्स गरेका छन् । आँचल र बर्षाको यो पहिलो चलचित्र हो ।

विकास आचार्यको निर्देशनमा तयार भएको यो चलचित्रमा एसोसिएट निर्देशकको रुपमा यस अघि नाईँ नभन्नू ल ३ निर्देशन गरेका मुस्कान ढकाल रहेका छन् । चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै चलचित्रकी नायिका प्रियंका कार्कीले आफु तेस्रो पटकसम्म विकास आचार्यको टिममा काम गर्न पाउँदा निकै खुसी लागेको र चलचित्र नाई नभन्नू ल ४ अरु श्रृखला भन्दा केहि फरक बनेको पनि बताइन । त्यस्तै चलचित्रका नायक पल शाहले चलचित्र आफ्नो लागि विशेष रहेको खुलाउँदै चलचित्रले आफु करियरलाई थप उचाइमा पुराउने बताए ।

त्यस्तै सोहि कार्यक्रममा बोल्दै चलचित्रका निर्देशक विकास आचार्यले अब नाई नभन्नू ल ४ पछि सभर लभ र निराञ्जना चलचित्र निर्माण गरेपछि मात्र नाईँ नभन्नू लको आगामी श्रृखला निर्माण गर्ने खुलाए । सभर लभ चर्चित लेखक सुविन भट्टराईको कृतिमाथी रहेर निर्माण हुँदैछ भने निराञ्जना भने विकास आचार्यले हालै विकास बोर्डमा नाम दर्ता गराइसकेका छन् । खबरका अनुसार नाईँ नभन्नू ल ४ पछि सभर लभ चलचित्र निर्माण हुनेछ भने त्यसपछि निराञ्जना र नाईँ नभन्नू ल ५ निर्माण हुनेछ । चलचित्रमा हरिबोल भण्डारी र दिनेश पोखरेलको लगानी रहेको छ भने विकास आचार्य र सामीप्य राज तिमल्सेनाको लेखन रहेको छ ।

पल शाह, बर्षा राउत र आँचल शर्मासँगै यो चलचित्रमा सरोज खनाल, प्रियंका कार्की, अनुभव रेग्मी, उत्तम के.सी, शिशिर भण्डारी, मरिचमान श्रेष्ठ, आकाश पल लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ । चलचित्रमा पुरुषोतम प्रधानको छायाँकन, कपिल पराजुलीको कलर करेक्सन, अर्जुन जी.सीको सम्पादन, कविराज गहतराजको नृत्य, उत्तम केसी र विरेन्द्र शर्मा प्रोडक्शन म्यानेजर, एलिस कार्कीको पाश्र्व संगीत, हिमाल केसीको द्धन्द्ध, मुकेश शाहको मिक्सिङ्ग, सुदीप कुँवरको मुख्य सहायक निर्देशन, अर्जुन जि.सीको प्रोमो र विजय बस्याल र शान थापाको पोष्टर डिजाइन रहेको छ ।
त्यस्तै चलचित्रको गीत रचना विकास आचार्य, कृष्णहरी बराल, बसन्त सापकोटाको रहेको छ भने गीतमा राजेश पायल राई, सगुम पोखरेल, प्रल्हाद तिमल्सेना, प्रेम परियार, रजिना रिमाल र इन्दिरा जोशीको आवाज रहेको छ ।

ट्रेलर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu