यस्तो छ विश्व रेकर्ड राख्ने ‘जालो’को ट्रेलर (भिडियो)
काठमाण्डौ। वन सटमा खिचिएको नेपाली चलचित्र ‘जालो’को ट्रेलर रिलीज गरिएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको हो ।
जेठ १९ गतेलाई रिलिज डेट लक गरिएको ‘जालो’ पूर्ण व्यवसायिक मनोरञ्जनात्मक फिल्म बनेको निर्देशक अराज केशवले ट्रेलर रिलिज कार्यक्रममा बताए । उनले भने, ‘धेरैले वान सटमा दुई फिल्म एकसाथ गर्न सकिन्न भनेर पनि भने तर मलाई विश्वास के थियो भने म वान सटमै दुई फिल्म तयार पार्नेछु र त्यो सम्भव पनि भयो ।’
त्यस्तै, फिल्मका निर्माता मोहित मुनालले भने -‘विश्वमा असम्भव भनिएको काम हामीले गरेर देखाएका छौं । अब दर्शकहरुको साथ र मायाको खाँचो छ ।’ ‘जालो’ र ‘जालो रिर्टन्स’ लाई मोहित र अराजले मिलेर निर्माण गरेका हुन । फिल्मको कथा निर्देशक अराज आफैले लेखेका हुन ।
‘जालो’ को सिक्वेलको रुपमा रहेको ‘जालो रिर्टन्स’ को भने रिलिज डेट फाइनल गरिएको छैन । निर्माणपक्षबाट प्राप्त जानकारी अनुसार, ‘जालो’ रिलिजको एक बर्षपछि ‘जालो रिर्टन्स’ हलमा लाग्नेछ । यी दुवै फिल्ममा नीर शाह, अनुप विक्रम शाही, मेनुका प्रधान, निराजन प्रधान, मुना गौचन, लक्ष्मी गिरी लगायतका ४० भन्दा बढी कलाकारहरुको मुख्य भूमिका छ ।
३ घण्टा ५३ मिनेटसम्म क्यामेरा अफ नगरि ‘जालो’ र ‘जालो रिर्टन्स’ लाई हरी घले लामाले खिचेका हुन् । विश्वमै वान सटमा दुई फिल्म एकसाथ खिचिएको पहिलो पटक भएका कारण ‘जालो’ रिलिजपछि गीनिज बुकमा नाम दर्ता गराउन प्रक्रिया अगाडी बढाइने निर्देशक अराज केशवले जानकारी दिए । उनका अनुसार दुबै फिल्मको समय २-२ घन्टाको हुनेछ ।
ट्रेलर हेर्नुहोस्: