फ्राईडे रिलिजमा ‘मेरी कुसुम’ र ‘डा. खाते’
काठमाण्डौ। यस हप्ताको शुक्रवारबाट नेपाली हलहरुमा दुई चलचित्रले एकसाथ प्रदर्शन आरम्भ गरेका छन् । गएको हप्ता प्रदर्शनमा आएको चलचित्र ‘म यस्तो गीत गाउँछु’ले दोस्रो हप्तामा पनि ठूला हलहरु कब्जा गरिरहेको अवस्थामा ‘मेरी कुसुम’ र ‘डा. खाते’ले आज शुक्रवारबाट प्रदर्शन आरम्भ गरेका हुन् ।
फिल्म ‘मेरी कुसुम’लाई एन.आर. घिमिरेले निर्देशन गरेका हुन् । सुनिता शर्मा बोगटी निर्मात्री रहेको फिल्ममा मोहन बोगटी र हर्षिका श्रेष्ठको मुख्य भूमिका छ।
दिव्य सुवेदीको छायांकन, टंक वुढाथोकीको संगीत छ । प्रेम र युद्धको कथा फिल्मको केन्द्रमा रहेको छ। दुवईका विभिन्न शहरहरुमा प्रदर्शन पश्चात यो फिल्म नेपालमा प्रदर्शन हुन लागेको हो ।
यस्तै, सडक बालबालिका, घरेलु श्रमिक बालहिंसा तथा बालश्रम बिरुद्धको आवाज प्रस्तुत गरिएको भनिएको फिल्म ‘डा. खाते’ मा रोशनी केसी, सम्राट सापकोटा, शिल्पा पोखरेल, कुमार गजुरेल, अमृत परियार, सन्तोष नेपाली, सुर्य गुरुङ लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।
जगदिश्वर थापा र रवि अर्यालको लेखन रहेको फिल्ममा दिव्य सुवेदीको छायाँकन, तारा थापा किन्भेको सम्पादन र सचिन सिंहको संगीत रहेको छ । रवि अर्याल निर्देशित फिल्मलाई रोशनी केसीले निर्माण गरेकी हुन । फिल्मलाई रवि अर्यालले निर्देशन गरेका हुन् ।