बर्षाले २१ स्थानहरुमा रोक्यो संरक्षणको प्रदर्शन
अबिरल बर्षाका कारण अहिले तराईका अधिकांश ठाउँहरुको जनजीवन प्रभावित भएको छ । तराईका अधिकांश जिल्लाहरु जलमग्न छन् । यसको प्रत्यक्ष असर चलचित्रमा पनि परेको छ ।
शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘संरक्षण’ बर्षाको मारमा परेको छ । लगातारको वर्षाका कारण निखिल उप्रेती र सौगात मल्ल अभिनित फिल्म ‘संरक्षण’ तरार्इका २१ स्थानहरुमा प्रदर्शन हुन सकेन ।
फिल्मका निर्माता प्रदीप कुमार उदयले विर्तामोड, दमक, विराटनगर, जनकपूर, राजविराज लगायत २१ शहरमा संरक्षणको प्रदर्शन स्थगित भएको जानकारी दिए । उनले भने, ‘जतिपनि हलमा फिल्म प्रदर्शन भैरहेको छ त्यहाँ शुक्रवार र शनिवार हाउसफूलको रिपोर्ट प्राप्त भएको छ । राजधानीका मल्टिप्लेक्स र सिंगल हलहरुमा पनि फिल्म ‘संरक्षण’ले दर्शकको राम्रो साथ पाएको छ ।’ उनका अनुसार, वर्षा रोकिएपछि प्रदर्शन स्थगित भएका २१ शहरहरुमा ‘संरक्षण’ प्रदर्शन हुनेछ ।
राजनीतिक कथावस्तुमा निर्माण भएको यो फिल्मले दर्शकहरुबाट राम्रो प्रतिक्रिया पाएको छ । फिल्मले तराई क्षेत्रमा हुने राजनीति र त्यसले जनता र प्रहरीलाई कसरी असर पुर्याउँछ भन्ने कथा बोल्छ । फिल्ममा परवेश मल्लिकको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, हिमाल केसीको एक्सन छ ।
फिल्ममा निखिल उप्रेती, सौगात मल्ल, कामेश्वर चौरासिया, मलिना जोशी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, अशिष्मा नकर्मीको मुख्य भूमिका रहेको छ । फिल्मलाई प्रदिपकुमार उदय र नरेन्द्र महर्जनले संयुक्त रुपमा निर्माण गरेका हुन् ।