तिहार पछिलाई सर्यो नेम्पा फिल्म अवार्ड
अमेरिकाको डालसमा हुने भनिएको नेम्पा फिल्म अवार्ड २०१७ को मिति सरेको छ । टेक्सासको विभिन्न स्थानमा प्राकृतिक विपत्ति परेकोले र साथै नेपालीहरुको महान चाड विजया दशमीको पूर्वसन्ध्या समेत परेको हुँदा टेक्सास बासी नेपालीहरुको विशेष आग्रहमा मिति सारिएको बताईएको छ ।
नेपाल चलचित्र संघ र डि ए बि एस इन्टरटेन्मेन्टको संयुक्त आयोजनामा यही २०१७ सेप्टेम्बर १७ तारिख (२०७४ असौज १ गते) आयोजना हुने भनि उत्कृष्ट तीन समेत घोषणा भईसकेकोमा अब उक्त कार्यक्रम २०१७ नोभेम्बर ५ तारिख (२०७४ कार्तिक १९ गते) आइतबारका दिन पूर्व निर्धारित स्थानमा नै भव्य, सभ्य र व्यवस्थित रुपमा गरिने आयोजक संस्थाले जनाएका छन् ।
नेपाल चलचित्र संघका अध्यक्ष प्रदीप कुमार उदयको हस्ताक्षरमा जारी प्रेस विज्ञप्तीमा नेपाली चलचित्रको प्रवर्द्धन र सम्बर्धनमा नेम्पा फिल्म अवार्ड २०१७ अमेरिकाले महत्वपूर्ण योगदान दिने आशा एवं विश्वास गरिएको छ ।