‘योमरी पुन्ही’को र्यालीमा ‘फिर्के’को प्रचार
पुष २१ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको चलचित्र ‘फिर्के’ यूनिटले शनिवार नेवार समुदायले विशेष उल्लासका साथ मनाउने ज्यापु दिवस तथा ‘योमरी पुन्ही’ पर्वमा आफ्नो उपस्थिति जनाएको छ ।
‘फिर्के’ निर्माता तथा कलाकार सुलेमान शंकर ‘ईकु’, निर्देशक रवि डंगोल लगायत चलचित्रका अन्य सदस्यले सुन्धारा मंगलटोलबाट असन हुँदै हनुमान ढोकासम्म भएको र्यालीमा समेत सहभागी भएका थिए ।
‘ईकु’ले भने, ‘हामी फिल्मको पोस्टरसहित र्यालीमा सहभागी भएका थियौं । धेरैलाई ‘फिर्के’ पुष २१ गतेबाट प्रदर्शनमा आउँदैछ भन्ने थाहा भएको सुन्न पाउँदा निकै खुसी लाग्यो ।’
यसअघि ‘ईकु’ र ‘ईकु २’ चलचित्रका निर्माता समेत रहेका कलाकार सुलेमान शंकरले ‘फिर्के’मा ईकु भन्दा फरक भूमिकामा अभिनय गरेका छन् ।
गाउँदेखी शहर पसेको एक सिधा युवाको कथामा ‘फिर्के’ बनेको छ । पौष २१ गते रिलीज हुने ‘फिर्के’मा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
यो चलचित्रलाई २७ बर्ष कला क्षेत्रमा रहेर काम गरेका रवि डंगोलले निर्देशन गरेका छन् । छ वटा नेवारी (नेपाल भाषा)का चलचित्रहरु निर्देशन गरेर तितो सत्य, जिरे खुर्सानी लगायतका टेलिसिरियलमा ‘बेमान’को नामले परिचित रविले पहिलो नेपाली भाषाको चलचित्र निर्देशन गरेका हुन् ।
यो चलचित्रका निर्माता ओमलाल गुरुङ् र राजेश श्रेष्ठ हुन् । चलचित्रमा अभिमन्यू निरबीको लेखन रहेको छ ।
अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको ‘फिर्के’मा मित्र डि. गुरुङ्को सम्पादन तथा राम कुमार केसीको छायांकन रहेको छ । चलचित्रलाई काठमाण्डौ उपत्यकामा गोपाल कायस्थ र मोफसलमा एफ डि कम्पनीले वितरण गर्दैछन् ।