बसन्तलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’, संगीतकार राजनराजलाई बाइक उपहार



श्वेताश्री फाउण्डेसनको अगुवाइमा निर्माण भैरहेको ‘एकीकृत नमुना माझी बस्ती’ को सहयोगार्थ नायिका तथा निर्मात्री श्वेता खड्काले आयोजना गरेको ‘कान्छी म्युजिकल नाइट तथा रेड कार्पेट’ भब्यताका साथ सम्पन्न भएको छ ।

मंगलबार साँझ दरबारमार्गको होटल अन्नपूर्णमा आयोजित उक्त साँझमा फिल्मकर्मी, श्वेताश्री फाण्डेशनका सदस्यहरु, कान्छी टिम र सञ्चारकर्मी गरी करिब ३ सय पाहुना उपस्थित थिए ।

सामाजिक सहयोगाको लागि गरिएको उक्त कार्यक्रममा श्वेताले वरिष्ठ नृत्य निर्देशक बसन्त कुमार श्रेष्ठलाई ५१ हजार रकम सहित लाइफ टाइम एचिभमेन्टबाट सम्मान गरिन् ।

यस्तै, नेपालको पहिलो हाँस्य साम्राज्ञी बसुन्धरा भूषाल र रक्षा नेपालकी प्रमुख सामाजिक अभियान्ता मेनुका थापालाई विशेष सम्मान गरियो । अभिनेत्री भूषाल सम्मान ग्रहणपछि भावुक हुँदै मञ्चमै रोइन् ।

यता, युवा चलचित्र सम्पादक भूपेन्द्र अधिकारी र माझी बस्ती निर्माणमा सक्रिय रुपमा लागि परेका यज्ञाराज कार्कीलाई प्रोत्साहन पुरस्कार दिइयो भने संगीतकार राजनराज सिवाकोटीलाई बाइक दिइयो ।

संगीतकार सिवाकोटीले संगीत दिएको ‘कान्छी’ को ‘चरी चट्ट’ बोलको गीतले एक करोड बढी भ्युज पाएपछि उनलाई बाइक उपहार दिइएको हो ।

‘कान्छी म्युजिकल नाइट तथा रेड कार्पेट’ मा स्व.अभिनेता श्रीकृष्ण श्रेष्ठको सम्झनामा नायिका अशिष्मा नकर्मी, जेविका कार्की, नायक विनोद न्यौपाने र कोरियोग्राफरले विभिन्न आकर्षक नृत्य प्रस्तुत गरे । नायक तथा निर्देशक आकाश अधिकारी र नायिका मरिस्का पोखरेलको प्रस्तुती पनि हेर्न लायकको थियो ।

हाँस्यव्यङ्ग्य कलाकार जितु नेपाल र सन्दिप क्षेत्रीले कमेडी प्रस्तुत गरेका थिए । धर्मेन्द्र सेवन, युवराज चौलागाईं र माण्डवी त्रिपाठीले कान्छीको गीत गाए । हाँस्यकवि शैलेन्द्र सिम्खडाले आफ्नो कविताबाट हँसाए ।

श्वेताको निमन्त्रणामा बरिष्ठ अभिनेत्री भुवन चन्द, चैत्यदेवी सिंह, बरिष्ठ फिल्मकर्मी नीर शाह, हरिहर शर्मा, गौरी मल्ल, अभिनेत्री करिश्मा मानन्धर, अभिनेता दयाहाङ राई, पुर्व प्रधानसेनापति रुक्मान्द कटुवाल, डि.आइ.जी रमेश खरेल, तेक्वन्दो प्लेयर दिपक विष्ट, डा.भोला रिजाल लगायत वरिष्ठ व्यक्तिहरु उपस्थित थिए ।

श्वेताले सहभागी सबैलाई धन्यवाद दिँदै माझी बस्ती निर्माणमा सहयोग गर्ने सम्पूर्ण सहयोगी मनप्रति कृतज्ञता प्रकट गरिन् । श्वेताले निर्माण र अभिनय गरेको चलचित्र ‘कान्छी’ फागुन ४ गतेबाट प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu