‘जय भोले’ घोषणा, खगेन्द्रदेखि स्वस्तिमासम्म लिडमा



पुराना चलचित्र निर्देशक, निर्माता तथा कलाकार अशोक शर्माले निर्देशन गर्ने नयाँ चलचित्र ‘जय भोले’ को औपचारिक निर्माण घोषणा गरिएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच कलाकार र निर्माण टीमको उपस्थितिमा चलचित्रको नाम र कलाकार सार्वजनिक गरियो । चलचित्रको नाम ‘जय भोले’ राखिएको छ ।

खगेन्द्र लामिछानेको कथा, पटकथा र संवाद रहेको चलचित्रमा खगेन्द्रसँगै सौगात मल्ल, बुद्धि तामाङ, स्वस्तिमा खड्का, सलोन बस्नेत, जयनन्द लामा, राजाराम पौडेल, बसुन्धरा भुषाल लगायतका कलाकारहरुको प्रमुख भूमिका रहनेछ ।

कार्यक्रममा बोल्दै खगेन्द्रले दुई केटा साथीबीचको भावनात्मक मित्रता र प्रेम कथावस्तुलाई चलचित्रले उठाएको बताए । उनले भने, ‘मैले आफ्नो तर्फबाट राम्रो कथा तयार गर्ने कोशिश गरेको छु । चलचित्र ह्युमरसहितको सोसल ड्रामा हो ।’

यस्तै, नायिका स्वस्तिमाले राम्रो टिम र आफ्नो भूमिका मन परेका कारण काम गर्न लागेको बताइन् । निर्देशक अशोक शर्माले ‘जय भोले’ को कथा बलियो रहेको सुनाए ।

फागुन १ गते शिवरात्रीको दिनबाट छायांकन सुरु हुने चलचित्रको लागत १ करोड ६० लाख बताइएको छ । झापा र इलाममा छायांकन हुने ‘जय भोले’ अर्को वर्षकोे दशैंको फूलपातीमा रिलिज हुनेछ ।

पुरुषोत्तम प्रधानको छायांकन, राजनराज सिवाकोटी र कल्याण सिंहको संगीत, राजु ढंगानाको सम्पादन, बसन्त श्रेष्ठको नृत्य रहने फिल्मको द्वन्द्व निर्देशकमा रोशन विक्रम भट्टराई रहेका छन् ।

एए ग्रुप अफ कम्पनिज र फिल्म वल्र्ड प्रा.लि.ले यो फिल्मलाई संयूक्त रुपमा निर्माण गर्न लागेको हो । किरण शर्मा, कृति शर्मा र अंकित शर्मा फिल्मको निर्मातामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu