पर्दामा तीन नेपाली चलचित्र



फ्राईडे रिलिज अन्तर्गत यो हप्ताको लागी तीन चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् । शुक्रबारबाट प्रदर्शनमा आएका चलचित्र हुन्, ‘ब्लाइन्ड रक्स’, ‘नाका’ र ‘तिम्रै छोरी तरुनी हाम्लाई के को दोष’ । तीन वटै फिल्म फरक जनराका छन् ।

‘ब्लाइन्ड रक्स’ दृष्टिविहीन युवती सृष्टि केसीको जीवनमा आधारित छ भने चलचित्र ‘नाका’ ले नाकामा हुने गरेका अवैध कारोबारहरुको कथा बोल्छ । यस्तै, ‘तिम्रै छोरी तरुनी’ कमेडी जनराको चलचित्र हो ।

‘ब्लाइन्ड रक्स’ मा सृष्टिको भूमिका अभिनेत्री वेनिशा हमालले निर्वाहा गरेकी छिन् भने आमाको भूमिकामा गौरी मल्ल र प्रेमीको भूमिका अभिनेता अर्पण थापाले निर्वाहा गरेका छन् । मिलन चाम्स निर्देशित चलचित्रका निर्माता निकेश लिम्बु हुन् । बुधवार राजधानीमा आयोजना गरिएको प्रियिमरमा चलचित्रले सुखद प्रतिक्रिया पाएको थियो ।

‘पशुपतिप्रसाद’ मा भस्मे डन, ‘छडके’ मा विन्दु माझी र ‘जात्रा’ मा फणीन्द्र बनेका विपिन कार्की स्टारर चलचित्र ‘नाका’ लाई अमित श्रेष्ठले निर्देशन गरेका हुन् । कथा पनि उनकै छ । चलचित्रबाट थिन्ले ल्हामुले नायिकामा डेब्यु गर्दै छिन् ।

मिडिया पोर्टको ब्यानरमा निर्मित ‘नाका’ मा रोबिन तामाङ, प्रकाश गन्धर्व, सजन थापामगर, रामभजन कामत, अभिषेक सुवेदी, केशव राई र घनश्याम जोशीको पनि अभिनय छ ।

यस्तै, अभिनेता जयकिशन बस्नेत अभिनीत चलचित्र ‘तिम्रै छोरी तरुनी हाम्लाई के को दोष’ विना प्रचार हलमा लागेको छ । सुरेश असिम निर्देशित फिल्ममा विष्णु सापकोटा, महिमा सिलवास लगायतका कलाकारहरुको अभिनय छ । चलचित्रलाई सुधन घिताल र दिलाराम सापकोटाले निर्माण गरेका हुन् ।

यी तीन चलचित्रसँगै मोफसलका केही जिल्लामा अभिनेता द्वय सौगात मल्ल र निखिल उप्रेती स्टारर चलचित्र ‘संरक्षण’ रि-रिलिज भएको छ । गएको साउन २७ गते देशव्यापी प्रदर्शनमा आए पनि लगातारको वर्षाले तरार्इका अधिकांश भु–भाग डुबानमा परेपछि यो चलचित्रले अपेक्षा अनुसार दर्शकको साथ पाउन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu