कस्तो छ ‘समर लभ’ ट्रेलर ? (भिडियो)



लेखक सुविन भट्टराई द्वारा लिखित चर्चित पुस्तक ‘समर लभ’ मा आधारित चलचित्र ‘समर लभ’ को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको ट्रेलरमा पुस्तकका केही हृदयस्पर्शी र रमाइला संवादहरुलाई विशेष प्राथमिकता दिइएको छ ।

साया (रेवती क्षेत्री) र अतित (आशिष पिया) बीचको ‘लभ जर्नी’ मा ठोकिन पुग्ने सुस्मिता उर्फ नम्रता सापकोटाले पनि ट्रेलरमा पर्याप्य ‘स्क्रिन स्पेस’ पाएकी छन् । ट्रेलरमा साया र सुस्मितासँग अतितको लिपलक र बेडसिन हाबी छ । चलचित्रमा लेखकको भूमिकामा सुरजसिंह ठकुरी छन् ।

‘नाइँ नभन्नू ल ३’ फेम्ड निर्देशक मुस्कान ढकालले यो चलचित्र निर्देशन गरेका हुन् । घोषणाकै बेलादेखि पात्र छनौटमा चुकेको आरोपबाट मुक्त हुन नसकेको यस चलचित्रबाट रेवती र आशिषले डेब्यु गरेका हुन् । दुबै चलचित्रलाई लिएर आशावादी देखिए ।

शिशिर भण्डारी, सरोज खनाल, ओम प्रतिक, मानसविक्रम थापालगायतका कलाकारहरुको अभिनय रहेको चलचित्र उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराखेको निर्देशक ढकाल बताउँछन् । उनी भन्छन्, ‘पुस्तक सर्वाधिक रुचाइएको कारण चलचित्र राम्रो बनाउन हामीलाई ठूलो दबाव थियो । हामीले हाम्रो तर्फबाट गर्न सक्ने सबै प्रयास गरेका छौं ।’

नव-नायक आशिष चर्चित पुस्तकमाथि बनेको चलचित्रमा काम गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको बताए । उनी भन्छन्, ‘पुस्तक पढ्दा जति आनन्द आउँछ चलचित्रबाट पनि त्यो खुसी मिल्छ ।’ केही बलिउड चलचित्र समेत गरिसकेकी रेवती पनि चलचित्रलाई दर्शकले रुचाउनेमा आशावादी देखिइन् ।

माघ २५ बाट प्रदर्शनमा आउने चलचित्रमा सुविनको कथालाई सामीप्यराज तिमल्सेनाले पटकथामा ढालेका हुन् । लेखक तिमल्सेनाले पुस्तक पढ्दा पाठकको मन छोएको महत्वपूर्ण पाटोलाई मात्र चलचित्रमा उतारिएको बताए । उनले उक्त चलचित्र सफल भए ‘साया’ पुस्तकमा पनि फिल्म बन्ने जानकारी दिए ।

चलचित्रको संवाद सुविन र सामीप्य मिलेर लेखेका छन् । चलचित्रमा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेका छन् भने बिनोद अधिकारी कार्यकारी निर्माता रहेका छन् । चलचित्रलाई सञ्जय लामाले छायांकन गरेका हुन् । चलचित्रको सम्पादनको जिम्मेवारी अर्जुन जिसीको काँधमा छ ।

ट्रेलर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu