‘चट्ट रुमाल’ को रिमेक भर्सनलाई गालीको वर्षात, मेलिनाले खोलिन् मुख



चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘यात्रा’ मा समावेश गरिएको सुपरहिट गीत ‘चट्ट रुमाल क्या मालुम’ लाई दर्शकले अत्याधिक गाली गरेपछि गायिका मेलिना राईले मुख खोलेकी छन् । गीतको रिमेक भर्सनमा उनको स्वर छ । नारी दिवसको शुभकामना दिँदै उनले शुक्रवार बिहान आफ्नो आधिकारिक फेसबुकमा लामो स्टाटस कोर्दै निर्माण टिमप्रति घोर निन्दा गरेकी छन् ।

कुनै लेजेन्ड्सले गाइसकेको र उही बेला चर्चित भइसकेको गीतलाई रिमेक गरेर बजारमा ल्याउनु आफैंमा ठूलो चुनौती रहेको बताउँदै मेलिनाले लेखेकी छन्, ‘त्यो चुनौतीलाई ध्यानमा राखेर हामीले पूरा मेहनत गर्न पछि परेका थिएनौं । मैले तीनपटक भोकल गरेको थिएँ । सुमन केसीले तीनपटक भोक गर्नुभएको थियो तर उहाँको राखिएन । श्याम स्वयत दाईले तीनपटक मिक्सिङ गर्नुभएको थियो र बाजाहरु थपियो । त्यति गरेर तयार गरिएको त्यो गीत नराखेर उही थोत्रे पुरानो गीत राखियो ।’

धेरै पटक आफूले फाइनल गीत रिप्लेस गरियोस् भनेर अनुरोध गरेता पनि टिमले नसुनेको उनले गुनासो पोखेकी छन् । टेन्डिङ र भ्यूजको अस्वस्थ प्रतिस्पर्धाको चेपुवामा आफू परेको मेलिनाको दुखेसो छ । ‘राम्रो कुराले टेन्डिङमा परेको पो राम्रो त हैन र ? यो विषयले संगीत क्षेत्रका हामी नयाँ पुस्ता र व्यक्तिगत मलाई पनि असर पुगेको हुँदा एक आर्टिस्ट भएको नाताले मलाई यस विषयमा बोल्न अधिकार छ’, उनले लेखेकी छन् ।

तर, मेलिनाको स्टाटसमा न ‘यात्रा’ टिम भनेर उल्लेख गरिएको छ न त ‘चट्ट रुमाल’ को रिमेक भर्सन भनेर नै उच्चारण गरिएको छ । उनले आफू जोगिएर स्टाटस लेखेकी छन् । तर, उनको असन्तुष्टि ‘यात्रा’ टिमप्रति हो भन्ने अनुमान लगाउन गाह्रो छैन । किनकि, उनले स्वर भरेका कुनै पनि गीतले आजसम्म सुन्नै नसक्ने गरि गाली खाएका छैनन् । हरेक गीतमा उनको स्वरलाई दर्शकहरुले अत्याधिक रुचाउने गरेका छन् । ‘चट्ट रुमाल’ को रिमेक भर्सनमा पनि उनको स्वरलाई भने खासै गाली छैन ।

‘चट्ट रुमाल’ लाई रि-एरेञ्ज राजन इशानले गरेका हुन् भने स्वर मेलिना र धर्मेन्द्र सेवानले भरेका छन् । पुरानो गीतमा शम्भुजित बाँस्कोटा र साधना सरगरको स्वर थियो । भने, शम्भुजित स्वयंले संगीत भरेका थिए । गीतका वास्तविक सर्जक बाबुराम दाहाल हुन् । स्वर्गीय शिव रेग्मी निर्देशित चलचित्र ‘आफ्नो मान्छे’ मा समावेश यो गीतको भिडियोमा स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठ र निरुता सिंहले नृत्य गरेका थिए ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu