२८ वर्षमा लागे प्रदीप खड्का



अभिनेता प्रदीप खड्काले आइतबारबाट २७ वर्ष पूरा भएर २८ वर्षमा प्रवेश गरेका छन् । ललितपुरको कुसुन्तीमा सन् १९९२ मार्च १० मा माता सारदा खड्का र पिता टेक बहादुर खड्काको कोखबाट जन्मिएका उनले मार्केटिङमा मास्टर्स गरेका छन् । चलचित्र ‘स्केप’ बाट अभिनय यात्रा थालनी गरेका उनलाई सन् २०१६ मा प्रदर्शनमा आएको सुदर्शन थापा निर्देशित चलचित्र ‘प्रेमगीत’ रातारात स्टार बनाएको थियो ।

प्रदीपले अहिले एक चलचित्रबापत ४० लाखमाथि पारिश्रमिक बुझ्ने गरेका छन् । २ लाख पारिश्रमिक लिएर चलचित्र ‘प्रेमगीत’ गरेका उनले यसैको दोस्रो पार्टमा ८ लाख पारिश्रमिक बुझे । यो चलचित्रले मुनाफा कमाएको भन्दै निर्माता सन्तोष सेनले उनलाई ५० लाखको आसपास पर्ने क्रेटा गाडी गिफ्ट नै गरेका थिए । ‘लिलिबिली’ मा उनले २२ लाख बुझे भने ‘रोज’ मा २५ लाख हात पारे ।

चकलेटी ब्वाई प्रदीपले विभिन्न चलचित्रबाट अवार्ड पनि उचालिसकेका छन् । ‘फान अवार्ड २०७३’ मा ‘स्टार अफ द ईयर’ घोषित भएका उनले ‘एलजी सिने सर्कल फिल्म अवार्ड २०७५’ मा पपुलर नायकको अवार्ड चुमेका थिए । यस्तै, पहिलो ‘एलजी फिल्म अवार्ड’ मा चलचित्र ‘प्रेमगीत’ बाट उनले अभिनेत्री पूजा शर्मासँग उत्कृष्ट जोडीको अवार्ड उचालेका छन् । उनले अहिलेसम्म कुनै चलचित्रबाट उत्कृष्ट अभिनेताको अवार्ड हात पार्न भने सकेका छैनन् ।


एकपछि अर्को फिल्मबाट सफलताको सिडी चढिरहेका प्रदीप चलचित्र छनोटमा निकै चुजी मानिन्छन् । निर्माताहरु लाखौं तिरेर चलचित्र गराउन अगाडि-पछाडि दौडिए पनि उनी स्क्रिप्ट र टिम मनपरे मात्र काम गर्न राजी हुन्छन् । वर्षमा दुई फिल्मभन्दा बढी फिल्म नगर्ने उनी पछिल्लो रिलिज चलचित्र ‘रोज’ असफल भएपछि भने निर्देशक छनोटमा गम्भीर देखिन थालेका छन् । चलचित्र राम्रो बन्न निर्देशक राम्रो हुनुपर्ने उनले महशुस गर्न थालेका छन् ।

अर्को महिना अर्थात् चैत २२ गते उनको नयाँ चलचित्र ‘लभ स्टेशन’ प्रदर्शनमा आउँदैछ । यसलाई भेट्रान निर्देशक उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । यसपछि उनले हेमराज विसीको एक लभस्टोरी चलचित्र गर्दैछन् । माटो सुहाउँदो चलचित्र बनाउन सिपालु मानिने रामबाबु गुरुङको ‘कबड्डी ३’ पनि उनले साइन गरिसकेको खबर प्राप्त छ । उनले उनीसँग चलचित्र ‘बेला’ पनि गर्दैछन् । अर्को वर्ष उनले ‘प्रेमगीत ३’ पनि गर्ने पक्का भइसकेको छ ।

‘डिप्लोम्याटिक’ जवाफ दिन खप्पिस प्रदीप प्रायः आफ्नो बोलिका कारण भने आलोचित बन्ने गरेका छन् । अभिनेतामा अहिलेका ‘हटकेक’ अनमोल केसीका प्रतिस्पर्धी मानिने उनको चलचित्र निर्माण कम्पनी प्रदीप मिडिया प्रा. लि छ, जसबाट ‘स्केप’ र ‘ठूलोमान्छे’ नामक फिल्म निर्माण भइसकेका छन् । भने, प्रदर्शनको तरखरमा रहेको चलचित्र ‘लभ स्टेशन’ मा पनि उनको ब्यानरले सहकार्य गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu