‘लभ स्टेशन’ कुनै चलचित्रबाट कपी गरेर बनाइएको होइन : प्रदीप



आइतबार आफ्नो २८ औं जन्मदिन मनाउँदै अभिनेता प्रदीप खड्काले आफ्नो नराम्रो बानी सुधार गर्ने बाचा पनि गरेका छन् । चैत २२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लभ स्टेशन’ टिमले आयोजना गरेको बर्थडे सलिब्रेसन कार्यक्रममा उनलाई पत्रकारले सोधे- ‘तपाईंको नराम्रो बानी के हो ?’ उनले जवाफ दिन समय लगाएनन् । उनले आफ्नो मजाक गर्ने बानी रहेको स्वीकारे ।

उनले भने- ‘कुनै पनि कुरा मजाक गर्ने बानी आजकाल नराम्रो साबित भइरहेको छ । सायद यही नै होला मेरो नराम्रो बानी । किनकि, म स्टेट फर्वाड छु ।’ हालै चलचित्र ‘लभ स्टेशन’ को ट्रेलर रिलिज कार्यक्रममा अघिल्ला चलचित्रबाट निर्देशक चाहिँ राम्रो चाहिने रहेछ भन्ने महशुस भएको बताएपछि उनको जमेरै आलोचना भएको थियो । यसअघि काम गरेका निर्देशकहरु नराम्रो रहेको आशयले मजाक उडाएको भन्दै प्रदीपमा स्टारडमको घमण्ड चढ्न थालेको टिकाटिप्पणी भएको थियो ।

प्रदीपले आफूलाई कुनै बानी सुधार गर्नुपर्ने लागेको खण्डमा त्यसलाई त्याग्न तयार रहेको पनि बोले । उनको बर्थडे सेलिब्रेसनमा ‘लभ स्टेशन’ की अभिनेत्री जसिता उपस्थित थिइनन् । आखिर किन उनी अनुपस्थित ? प्रदीपले शनिबार साँझ नै जसितासहित चलचित्रको टिमसँग बर्थडे सेलिब्रेसन गरेको खुलाए । केही समययता उनीहरु प्रेममा रहेको खबर छ । प्रदीपले दर्शकलाई आफ्नो नयाँ फिल्म ‘लभ स्टेशन’ हेर्न आग्रह पनि गरे ।


‘लभ स्टेशन’ को ट्रेलरमा समावेश केही सिन टर्कीमा निर्माण भएको चलचित्र ‘हर से असक्तन’ सँग डिट्टो मिलेपछि अहिले फिल्ममाथि चोरीको आरोप लागेको छ । यसबारे पनि प्रदीप र चलचित्रका निर्माता गोविन्द शाहीले संयूक्त रुपमा जवाफ दिए । प्रदीपले केही सिन उस्तै लागे पनि कुनै चलचित्रबाट कथा तानेर ‘लभ स्टेशन’ नबनेको स्पष्ट पारे । चलचित्र राम्रो बनाउनका लागि कुनै चलचित्रबाट प्रभावित हुनु नराम्रो नभएको पनि उनको जिकिर छ ।

‘चलचित्र कहीँ-कतैबाट पनि कपी होइन । कहीँ-कतै मिल्न गएमा संयोग मात्र हुनेछ’, उनले अगाडि भने- ‘लभ स्टेशन’ मा नयाँपन छ र कुनै शंका नगर्न पनि म आग्रह गर्छु ।’ उनले फेरि थपे- ‘चलचित्र राम्रो बनाउनका लागि कुनै चलचित्रबाट प्रभावित हुनु नराम्रो हो भन्ने मलाई लाग्दैन ।’ उनले ‘लभ स्टेशन’ कुनै चलचित्रबाट कपी गरेर नबनेको पटक-पटक दाबी गरिरहे ।

निर्माता गोविन्द शाही भने यस विषयमा बोल्न चाहिरहेका थिएनन् । उनी भन्दै थिए, ‘यो विषयमा पछि कुरा गरौंला ।’ तर, टर्कीको चलचित्रबाट केही सिन कपी गर्नुको दोषी को ? भन्ने पत्रकारको प्रश्न नरोकिएपछि उनलाई जवाफ दिन करै लाग्यो । ‘दोष कसैको पनि छैन । हामीले विशुद्ध नेपाली फिल्म बनाउने प्रयास गरेका छौं । काम गर्दै जाँदा केही सिनहरु संयोगले मिल्छ, त्यसको दोषी कोही होइन’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu