‘साइँली’ मा गीतभन्दा अगाडिको कथा



हेमन्त रानाको स्वरमा रहेको ‘साइँली’ गीतको नाम सापटी लिएर निर्माण भएको चलचित्र ‘साइँली’ यही चैत १५ मा प्रदर्शनमा आउँदैछ । धेरैलाई लाग्नसक्छ गीतझैँ चलचित्रले पनि बैदेशिक रोजगारीकै कथा भन्नेछ । तर, फिल्मको कथा गीतभन्दा अगाडिको रहेको निर्देशक रामबाबु गुरुङ बताउँछन् । ‘सार्वजनिक ट्रेलरबाट पनि यो कुरा धेरथोर पुष्टि हुन्छ’, निर्देशक गुरुङ भन्छन्, ‘गीत नै आफैंमा चलचित्र थियो । फेरि त्यही कथामा चलचित्र बनाउन आवश्यक ठानेनौं । तर, गीतको मर्मभन्दा बाहिर भने गएका छैनौं । गौरव बैदेशिक रोजगारीमा जानुभन्दा अगाडिको कथामा फिल्म केन्द्रित छ ।’

‘साइँली’ गीतका गायक तथा चलचित्रका निर्माता मध्येका एक रानाले फिल्म गीतको भिडियोको प्रिक्वेल रहेको बताए । हालै पोखरामा पत्रकारसँग भलाकुसारी गर्दै उनले भने- ‘गीतलाई नै आधार बनाएर चलचित्र बनाएका हौं । चार मिनेटको भिडियोमा साइँला र साइँलीको कथा भन्न असम्भव थियो । त्यसैले हामीले गीतमा समेट्न सकेको कथा चलचित्रमार्फत् भन्न खोजेका छौं ।’ उनले चलचित्रले उठाएको कथा आमनेपालीको रहेको पनि बताए ।


‘साइँली’ गीतको भिडियोमा अभिनय गरेका अभिनेता गौरव पहारीको फिल्ममा पनि प्रमुख भूमिकामा छ । उनको अपोजिटमा गीतको भिडियोमा झैँ मेनुका प्रधान नै छिन् । गौरव यो चलचित्रको निर्माता समेत हुन् । उनी गीतभन्दा फिल्म उत्कृष्ट बनेको बताउँछन् । टाइटल क्यारेक्टरमा रहेकी मेनुका भने दर्शकले आफूलाई फरक फरक चरित्रमा देख्न पाउने बताइन् । ‘गीतमा मेरो विगत देखाइएको थिएन, चलचित्रमा त्यो सबै छ’, उनले भनिन् ।

चलचित्रमा प्रमुख भूमिकामा रहेका अभिनेता दयाहाङ राई गीतको भिडियोमा ‘सिम्बोलिक’ रुपमा देखाइएको कथालाई ‘साइँली’ चलचित्रमा विस्तृतमा देखाइएको बताउँछन् । ‘मिडियोमा श्रीमान्-श्रीमतीको वियोगान्त कथालाई मात्र देखाइएको थियो । तर, चलचित्रमा त्यो अवस्था कसरी सृजना भयो भन्ने देखाइएको छ’, राईले अगाडि भने- ‘चलचित्र हेर्दै गर्दा दर्शकलाई साँचिक्कै अपनत्व महशुस हुन्छ र आफ्नै कथा पर्दामा देख्दा खुसी लाग्नेछ ।’

केनिपा सिंह, माओत्से गुरुङ, प्रकाश घिमिरे, अरुण कार्कीलगायतका कलाकारको पनि अभिनय रहेको यस चलचित्रमा विशाल गुरुङ र मोहन राना मगर निर्मातामा छन् । फिल्मका कार्यकारी निर्माता मणिराम पोखरेल हुन् । शैलेन्द्र डि कार्कीको छायांकन रहेको छ । चलचित्रमा पनि चर्चित गीत ‘सुन साइँली’ भने समावेश गरिएको छ । चलचित्रको कथा निर्देशक रामबाबु स्वयंको हो । उनी माटो सुहाउँदो चलचित्र बनाउन सिपालु मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu