सलिन भन्छन्, ‘मेरो प्रतिस्पर्धा नम्बर वानसँग’



अभिनेता सलिनमान बनियाँ अभिनीत दोस्रो चलचित्र ‘यात्रा’ यही चैत २९ मा रिलिज हुँदैछ । यो डेटमा अभिनेता अनमोल केसी स्टारर चलचित्र ‘ए मेरो हजुर ३’ पनि प्रदर्शनमा आउँदैछ । सलिनले अनमोलको चलचित्रसँग आफ्नो चलचित्र एकसाथ प्रदर्शनमा आउन लागेका कारण चुनौती महशुस गरिरहेको बताएका छन् । तर, उनले अनमोलसँग हारे पनि नभाग्ने अठोट लिएका छन् ।

सोमवार ‘यात्रा’ को ट्रेलर रिलिज कार्यक्रममा पत्रकारले ‘ए मेरो हजुर ३’ सँगको प्रतिस्पर्धालाई लिएर उनको भनाई बुझ्न खोजे । उनले दुई चलचित्र एकसाथ रिलिज हुनुलाई दर्शकहरुले प्रतिस्पर्धाको रुपमा लिएको स्वीकार गरे । सलिनले भने- ‘बजारमा मैले जित्छु कि हार्छु भन्ने चर्चा भइरहेको छ । बरु म हार्छु तर भाग्दिनँ ।’

घमाउरो शैलीमा उनले अनमोललाई नेपाली चलचित्रको नम्बर वान नायक पनि बताए । उनी भन्छन्, ‘मेरो प्रतिस्पर्धा नेपालको नम्बर वान नायक (अनमोल केसी) सँग हो । त्यसैले नम्बर वानसँग हार्नु भनेको ठूलो कुरा गुमाउनु होइन ।’ उनले रोनाल्डो र मेस्सी पनि वल्डकपमा हारेको उदाहरण दिए ।

सलिनको ‘यात्रा’ लाई सम्राट शाक्यले निर्देशन गरेका हुन् । यो चलचित्र भ्लगरको कथामा आधारित भएर बनेको छ । मलिका महत, सलोन बस्नेत, जान्हवी बस्नेत, रेअर राई, प्रेक्षा बज्राचार्य, विशाल सापकोटा, राजाराम पौडेल, धिरेन शाक्यलगायतका कलाकारहरुको पनि यसमा अभिनय छ । फिल्मलाई संजय लामाले खिचेका हुन् । चलचित्रमा सलिनले भ्लगरको भूमिका निभाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu