‘लभ स्टेशन’ लाई शुभकामना दिँदै करिश्माले भनिन्, ‘प्रदीप मनपर्छ’



सुरक्षा भट्टराई।

अभिनेता प्रदीप खड्काले अभिनेत्री करिश्मा मानन्धरले एसईई परिक्षा दिइरहेको विजयस्मारक विद्यालयमै पुगेर आफ्नो नयाँ चलचित्र ‘लभ स्टेशन’ को प्रचार गरेका छन् । उनले करिश्मालाई भेटेर एसईई परिक्षाको शुभकामना पनि दिए । करिश्माले पनि प्रदीपलाई यही शुक्रवार रिलिज हुने चलचित्र ‘लभ स्टेशन’ को सफलताको शुभकामना दिइन् ।

प्रदीपले आफ्नो पूरा परिवार करिश्माको प्रशंसक रहेको बताए । ‘पढाईलाई उमेरले छोक्दैन’ भन्ने उदाहरण पेश गरेकी करिश्माको तारिफ गर्दै उनले भने- ‘उहाँ हामी सबैका लागि प्रेरणाको स्रोत हुनुहुन्छ । मेरो ममी पनि उहाँले एसईई दिएपछि फेरि अध्ययन सुरु गर्ने सोचमा हुनुहुन्छ । मेरो ममीजस्तै अरु धेरै करिश्मा दिदीबाट प्रभावित हुनुहुन्छ ।’ उनी करिश्मासँग चलचित्रमा काम गर्ने इच्छा रहेको पनि बताउँछन् ।


उनले ‘लभ स्टेशन’ मा करिश्मालाई लिने प्रयास भएको पनि रहस्य खोले । ‘उहाँलाई हामीले चलचित्रमा लिने प्रयास गरेका थियौं । तर, उहाँ त्यसबेला एसईई परिक्षाको तयारीमा हुनुहुन्थ्यो । म चाहिँ उहाँसँग काम गर्न एकदमै इच्छुक छु’, प्रदीपले भने । करिश्माले भने प्रदीप आफ्नो मनपर्ने अभिनेता रहेको बताइन् । उनले भनिन्, ‘मलाई नयाँमा एकदमै मनपर्ने अभिनेता प्रदीप हो । उहाँले अभिनय पनि राम्रो गर्नुहुन्छ ।’

टिमअप हुने सम्भावना कति छ ? भन्ने पत्रकारको प्रश्नमा उनले भनिन्, ‘सँगै काम गर्ने मौका भविष्यमा अवश्य आउला । मसँग नभए पनि मेरी छोरीसँग आउला । अथवा, मेरो प्रोडक्सनसँग आउन सक्छ । सँगै काम गर्ने मौका मिले नगर्ने भन्ने कुरै आउँदैन ।’ चलचित्र ‘प्रेमगीत ३’ मा अभिनेता राजेश हमाल, प्रदीपको पिताको भूमिकामा रहने चर्चा छ । आमाको रोलमा करिश्मा हुने सम्भावना रहला ?

पत्रकारको यस प्रश्नमा करिश्माले जवाफ दिइनन् । प्रदीपले भने राजेश हमाल र करिश्मा मानन्धर आफूलाई सबैभन्दा मनपर्ने पेयर रहेको बताउँदै भने- ‘नेपाली फिल्म इन्डस्ट्रीको उहाँहरु ‘मोस्ट फेभरेट पेयर’ हुनुहुन्छ । ‘प्रेमगीत ३’ मा उहाँहरु दुईजना हुनुभयो भने त गजब नै हुने थियो ।’ सम्भवतः प्रदीप र करिश्माको पहिलो पटक भेट भएको हो । दुईलाई एउटै चलचित्रमा हेर्ने दर्शकको ठूलो चाहना छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu