किन रोकियो चलचित्र कलाकार संघको चुनाव ?



यही चैत २३ गते हुने भनिएको चलचित्र कलाकार संघको महाधिवेशन स्थगित भएको छ । फर्जी सदस्यता वितरण गरेको उजुरी परेपछि संघको चुनाव स्गथित भएकोे हो । कलाकार सुरज आरडीले वर्तमान कार्यसमितिले गैर कलाकारलाई नयाँ सदस्यता वितरण गरेको भन्दै केही दिन अगाडि काठमाडौं जिल्ला प्रशासन कार्यालयमा मुद्धा दायर गरेका थिए ।

आइतबार सो मुद्धाको सुनवाई गर्दै दुई पक्षको छलफल निष्कर्षमा नपुगेको भन्दै जिल्ला प्रशासन कार्यालयले तत्कालका लागि संघको अधिवेशन रोक्न आदेश दिएको हो । कलाकार संघको आगामी अध्यक्ष पदको लागि सरिता लामिछाने र लय संग्रौलाले अध्यक्षमा उम्मेदवारी दिइसकेका छन् भने केही पदमा पनि उम्मेदवारी घोषणा भइसकेको छ ।


आइतबार दिउँसो काठमाडौं जिल्ला प्रशासन कार्यालयमा भेटिएको अध्यक्षकी प्रत्यासी तथा संघकी वर्तमान महासचिव सरिताले केही प्राविधिक कारणले संघको आसन्न चुनाव स्थगित भएको बताइन् । ‘चुनाव स्थगित हुनुको धेरै कारण छन् । त्यो बोलेर म संघको बदनाम गर्न चाहन्नँ । केही प्राविधिक कुरा मिलाएर हामी चाँडै चुनाव गर्नेछौं’, उनले भनिन् ।

कलाकार संघको सदस्यता सम्बन्धी नियम मिचेको आरोप लगाउँदै कलाकार आरडीले जिल्ला प्रशासन कार्यालयमा लामिछानेविरुद्ध उजुरी दिएका हुन् । उनले लामिछानेमाथि दुईवटा चलचित्रमा मात्र अभिनय गरेर सदस्यता प्राप्त गरेको आरोप लगाएका छन् । संघको नयाँ विधानमा भने पाँचवटा चलचित्रमा अभिनय गर्नुपर्ने प्रावधान राखिएको छ ।

आइतबार विहानदेखि संघको आसन्न अधिवेशनका लागि निर्वाचन समितिले मनोनयन दर्ता गरिरहेको थियो । लगभग २० जनाभन्दा बढीले उम्मेदवारी दर्ता गरिसकेपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट तत्काल चुनाव स्थगित गर्न आदेश आएको थियो । अब संघले दर्ता भइसकेको मनोनयन फिर्ता गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu