सुहानालाई झरनाको उर्दी !



जिवन पराजुली, काठमाण्डौ।

नायक अनमोल केसीले ‘ए मेरो हजुर ३’ सहित जम्मा सात वटा चलचित्रमा अभिनय गरेका छन् । रिलीज भएका छ वटै चलचित्रमा नयाँ नायिकासँग काम गरेका अनमोलले ‘ए मेरो हजुर ३’मा आईपुग्दा पनि नयाँ नायिकासँग नै काम गरेका छन् । ति हुन् सुहाना थापा ।

सुहानाको लागि चलचित्र क्षेत्र नयाँ बिल्कुल होइन । यति सम्म भन्न सकिन्छ कि उनको जन्म नै चलचित्रमा भएको हो । उनि निर्माता सुनिल कुमार थापा तथा नायिका-निर्देशक झरना थापाकी छोरी हुन् । आजभन्दा २१ बर्षअघि सुहानाको जन्म हुँदा झरना नायिका नै थिइन् भने सुनिल निर्माता नै थिए । ‘ए मेरो हजुर ३’ बाट सुहानाले नेपाली चलचित्रमा पाईला चालेकी छन् ।

चर्चित नायक भुवन केसी तथा नायिका सुस्मिता केसीका छोरा अनमोलले चलचित्रमा आफ्नो भबिष्य सुनिश्चित गर्न लागिरहेको समयमा सुहानाको पनि प्रवेश भएको छ । यि दुई ‘स्टार किड्स’को जमघटलाई चलचित्र क्षेत्रमा बिशेष रुपमा हेरिएको छ । यसअघि यस प्रकारको सहकार्य नदेखिएकोले पनि अनमोल-सुहानाको जोडीले यो क्षेत्रमा अलग महत्व राखेको छ ।

चैत २९ मा रिलीज हुने यो चलचित्रमा आफुहरुले सँगै काम गर्ने भन्ने सुईँकोसम्म नपाई ‘कोस्टार’ बन्न पुगेका अनमोल-सुहानाले यो सहकार्यले नेपाली चलचित्रलाई ठुलै सफलता दिने बिश्वास रहेको बताउँछन् । सुहानालाई अनमोलसँग चलचित्रमा अभिनय गर्ने कुनै सोँच थिएन । उनले आफ्नी आमाको कुरा टार्न सकिनन् र अनमोलको जोडी बनिन् । अनमोललाई पनि सुहाना नै आफ्नो ‘कोस्टार’ भन्ने थाहा थिएन् । झरनाले ‘मेरै छोरीले अभिनय गर्ने हुन्’ भन्दा अनमोललाई एक प्रकारको खुशी जाग्यो । ‘मेरो चलचित्र यात्रा जसरी अगाडी बढेको थियो त्यसैगरी सुहानाको पनि अगाडी बढेको छ । सुहाना चलचित्रमा आउँदा हल्का भएपनि मलाई बोझ कम भएको महशुस गरेको छु किनकी उनि एक चलचित्र घरानाको छोरी हुन्, उनले केहि न केहि चलचित्र बुझेर आएकी छन्’, सुहानासँग आफ्नो कम्पनी मिलेको बताउँदै अनमोलले भने, ‘मेरो चाहना छ कि सुहाना नेपालको सुपरस्टार बनोस्, बाँकी उसको यात्रा दर्शकको हातमा छ’ ।

शुरुमा सुहानालाई आफुले चलचित्रमा अभिनय गर्छु भन्ने लागेको थिएन । झरना निर्देशनमा आएदेखि उनलाई विस्तारै यो क्षेत्र मन पर्न थालेको थियो । सुहाना भन्छिन्, ‘यतिछिट्टै कलाकार बन्छु भन्ने चाहिँ थिएन तर ‘ए मेरो हजुर २’ पोस्ट प्रोडक्शनमा रहँदा यो क्षेत्र मन पर्न थालेको थियो’ । त्यसो त सुहानाले आफु नायिका बन्छु भनेर कर गरेकी पनि होइनन् । सुहाना अमेरिकामा पढिरहँदा झरनाले चलचित्रको बारेमा कुरा राखेकी थिइन् । उनले पहिलोपटक छोरीलाई अभिनय गर्नुपर्छ भनेकी थिइन् । त्यहाँ एकप्रकारको उर्दी थियो, सुहाना भन्छिन्, ‘मम्मीले सिधै तिमीले फिल्म खेल्नुपर्छ भन्नुभयो । त्यहाँ ‘खेल्ने हो?’ भन्ने प्रश्न नै थिएन’ ।

जे-जसरी चलचित्रमा आएतापनि सुहानाप्रति दर्शक र मेकरहरुको एउटा आशा पलाएको छ । त्यसमाथी अनमोल र सुहानाको यो सहकार्यले सफल नतिजा ल्याउने बिश्वास पनि गरिएको छ । आशा छ ‘ए मेरो हजुर ३’ले यो बिश्वासलाई तोड्न दिने छैन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu