‘ए मेरो हजुर ३’ मा मेरो इमोसन जोडिएको छ : अनमोल केसी



अभिनेता अनमोल केसी यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ए मेरो हजुर ३’ मा एक चर्चित गायकको भूमिका निभाएका छन् । यसअघि पनि उनले चलचित्र ‘साथी म तिम्रो’ मा रकस्टारको भूमिका निभाएका थिए । तर, चलचित्रमा उनलाई एक गीतमा मात्र देख्न सकिन्थ्यो । ‘ए मेरो हजुर ३’ मा भने उनी नै केन्द्रमा छन् । एक सेलिब्रेटी र फ्यानको प्रेमकथा चलचित्रले भन्छ ।

सानैदेखि संगीतप्रति रुची र लगाव राख्ने अनमोलले आठ कक्षामा पढ्दा साथीहरुसँग मिलेर ‘एनटिओ सेभेन’ नामक म्यूजिक ब्याण्डको स्थापना गरेका थिए । यसमा उनी गितारिष्ट र भोकलिष्टको रुपमा थिए । यो ब्याण्ड अहिले निस्कृय छ । तर, अनमोलमा संगीतप्रतिको रुची अझै उस्तै छ । उनी प्रायः घरमा हुँदा र ट्राभल गर्दा म्यूजिक सुनेरै विताउँछन् । उनी आफ्नो पहिलो प्रेम नै संगीत रहेको बताउँछन् ।

चलचित्रमा प्रवेश गरेपछि उनलाई म्यूजिकल लभस्टोरी फिल्म खेल्ने निकै ठूलो इच्छा थियो । तर, छैटौं फिल्मसम्म आइपुग्दा उनले यो अवसर पाएनन् । सातौं चलचित्र ‘ए मेरो हजुर ३’ मा भने उनी गायक प्रेमको भूमिकामा प्रस्तुत भएका छन् । आफ्नो वर्षौदेखि मनमा गाँठो परेर बसेको इच्छा पूरा गर्ने अवसर पाएका कारण यो चलचित्रलाई उनी आफ्नो ड्रिम प्रोजेक्ट भन्न रुचाउँछन् । यो चलचित्र आफ्नो इमोसनसँग जोडिएको उनको भनाई छ ।


उनले भने- ‘मलाई पहिलादेखि नै म्यूजिकल स्टोरी गर्ने ठूलो इच्छा थियो । म स्कूल लाइफमा हुँदा पनि पढाईभन्दा म्यूजिकतिरै बढी ‘इन्ट्रेस्ट’ थिएँ । यस हिसाबले पनि यसलाई मैले मेरो ड्रिम प्रोजेक्टको रुपमा लिएको छु । मैले देखाउन नपाएको म्यूजिकको ‘स्किल्स’ हरु पनि यस चलचित्रमा देखाउन पाएको छु ।’ चलचित्रमा उनको फ्यानको भूमिका डेब्यू गर्ल सुहाना थापाले निर्वाहा गरेकी छन् । सुहानाझैं रियलमा पनि आफ्ना धेरै ‘डाइहार्ट फ्यान’ रहेको उनले बताए ।

दोस्रो पार्ट रिजेक्ट गरेर तेस्रो पार्ट गर्न चाहिँ कसरी कन्भिन्स हुनुभयो ? पत्रकारसँग एक भेटमा उनले भने- ‘मलाई ‘ए मेरो हजुर २’ अफर भएको थियो । तर, इमान्दारपूर्वक भन्नुपर्दा त्यो क्यारेक्टरमा मैले आफूलाई भेटिनँ । मैले झरना दिदीलाई पनि यही भनेको थिएँ । ‘ए मेरो हजुर ३’ मा मेरो क्यारेक्टरमा मैले आफूलाई महशुस गर्न सकेँ र साइन गरेँ । ‘ए मेरो हजुर’ जस्तो सफल सिरिजमा आबद्ध हुनु पाउँदा म खुसी छु ।’

‘ए मेरो हजुर ३’ लाई अभिनेत्री टर्न निर्देशक झरना थापाले निर्देशन गरेकी हुन् । सुनिल कुमार थापा निर्मित चलचित्रमा अनमोल र सुहानाका अलावा सलोन बस्नेत, सरोज खनाल, अर्पण थापा, रेअर राई, रबिन्द्र झालगायतका कलाकारहरुको अभिनय छ । निर्देशक थापा र सुमन पौडेलको कथा रहेको चलचित्रमा सञ्जय लामाको छायांकन र हिमाल केसीको द्वन्द्व निर्देशन छ । यसमा कविराज गहतराज, रामजी लामिछाने, प्रविन सिंह र राहुल शाहको कोरियोग्राफी छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu