सेलिब्रेटीलाई मनपर्‍यो ‘यात्रा’



शुक्रवारबाट प्रदर्शनमा आएको अभिनेता सलिनमान बनिया र नव अभिनेत्री मलिका महत स्टारर चलचित्र ‘यात्रा’ ले घरेलु बक्सअफिसमा सुखद सुरुवात गरेको छ । शुक्रवार चलचित्रले देशभर राम्रो व्यापार गरेको वितरक तथा निर्माता शुशील पोखरेलले बताएका छन् । उनले शुक्रवार चलचित्रले देशभर ६० प्रतिशत ओपनिङ अकुपेन्सी कायम गरेको बताए ।

शुक्रवार साँझ राजधानीको बिग मुभिजमा चलचित्रको विशेष शो आयोजना गरिएको थियो । दर्जन बढी फिल्मकर्मी र पत्रकारहरुको साथमा बसेर चलचित्रका कलाकार, निर्देशक र निर्माताले सँगै फिल्म हेरे । चलचित्र हेरेपछि अधिकांशले राम्रो बोलेका छन् । निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले ‘यात्रा’ लाई पैसा असुल फिल्म बताइन् । ‘युथलाई जुरमुराउनका लागि यो चलचित्रले ठूलो भूमिका खेल्छ’, उनले भनिन् ।


सलिन र डेब्यू गर्ल मलिका महतको अभिनयको प्रशंसा गर्दै उनले अगाडि भनिन्, ‘कलाकारहरु सबैको काम राम्रो छ । छायांकन पक्ष राम्रो लाग्यो । विदेशमा बसेर देश धेरै सम्झिनेहरुलाई चाहिँ यो चलचित्र हेरेर मज्जा आउँछ । हेरुन्जेल फिल्मले हलमा बाँधेर राख्छ ।’ हास्यजोडी सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले चलचित्र अत्यन्त राम्रो बनेको बताए । दुबैले डेब्यू गर्ल मलिकाको अभिनयको प्रशंसा गरे ।


कुञ्जनाले वृद्ध, युवादेखि बच्चासम्म सबैलाई मनपर्ने चलचित्र बनेको बताइन् । हास्यकलाकार सन्दीप क्षेत्रीले लभस्टोरी चलचित्र मनपर्ने दर्शकलाई ‘यात्रा’ ले निराश नबनाउने बताए । निर्देशक अपिल विष्ट भने अभिनेता सलिनको तारिफ गरेर थाकेनन् । उनी भन्छन्, ‘समग्रमा चलचित्र राम्रो बनेको छ । मलाई सलिनको काम चाहिँ राम्रो लाग्यो । ‘ए मेरो हजुर २’ मा उसको काम मलाई खासै चित्त बुझेको थिएन । दोस्रो चलचित्रमा उसले राम्रो ग्रोथ गरेको छ ।’


अभिनेत्री रेखा थापा, निर्माता माधव वाग्ले, अभिनेता रमेश उप्रेती, निर्देशक दीवाकर भट्टराईलगायतले पनि चलचित्र राम्रो बनेको र दर्शकलाई मनपर्ने बताएका छन् । यो फिल्मबाट डेब्यू गर्ल मलिकाले राम्रो सम्भावना देखाएकी छिन् । दृष्टिविहीन युवती तपस्याको भूमिका निभाएकी उनको अभिनय स्वभाविक लाग्छ । यस्तै, डेब्यू चलचित्र ‘ए मेरो हजुर २’ मा सलिनको अभिनयलाई लिएर धेरै टिका-टिप्पणी भएका थिए । ‘यात्रा’ मा उनले आफूलाई निखार्न मिहिनेत गरेको देखिन्छ ।


चलचित्र हेरेर निस्किँदै गर्दा कलाकार रेअर राईलाई कसैले विर्सन सक्दैनन् । अभिनय केही ‘लाउड’ भए पनि उनले आफ्नो भूमिकालाई भरपूर न्याय गर्ने प्रयास गरेका छन् । उनको उपस्थितिले दर्शकलाई हाँसोको कमी हुन दिँदैन । यही फिल्मबाट निर्देशनमा होमिएका सम्राट शाक्यले पनि राम्रो सम्भावना देखाएका छन् । अर्कोपल्ट उनीबाट दमदार चलचित्रको अपेक्षा राख्न सकिन्छ । चलचित्रको पहिलो हाफ भने केही लेन्दी लाग्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu