मेरो पहिलो प्राथमिकता चलचित्र नीति पारित गर्नु : बोर्ड अध्यक्ष भट्टराई



चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष केशव भट्टराईले आफ्नो कार्यकालमा कुनै हालतमा बक्सअफिस लागू हुने दाबी गरेका छन् । चलचित्र पत्रकार संघ, नेपालले सोमवार राजधानीमा आयोजना गरेको ‘चियापान तथा चलचित्र क्षेत्रको बेथिति’ विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आउँदो साउन महिनाभित्र देशभरका हलमा बक्सअफिस परिक्षण गर्ने बताए । चलचित्र क्षेत्रमा इमान्दारिताको खडेरी देखिएको पनि उनको भनाई छ ।

‘निर्माता, कलाकार, निर्देशक, वितरक, पत्रकार सबैले आफ्नो मात्र स्वार्थ हेर्न थालेका कारण नेपाली चलचित्र क्षेत्र अहिले दयनिय अवस्थामा छ । हामी सबैमा इमान्दारिताको खडेरी छ । हामी आफ्नो बाहेक अरुको हित सोच्दैनौं । जसको परिणाम ‘कालो वर्ष’ को रुपमा आएको वार्षिक समीक्षालाई हेर्दा नै छर्लङ्ग हुन्छ’, उनले भने । उनले चलचित्र क्षेत्रको विकासका लागि चलचित्र नीति अनिवार्य रहेको पनि औंल्याए । आफ्नो पहिलो प्राथमिकतामा चलचित्र नीति पारित गर्नु रहेको उनी बताउँछन् ।


कार्यक्रममा अतिथीको रुपमा सहभागी भएका नेपाल चलचित्र संघका अध्यक्ष प्रदीप कुमार उदयले चलचित्र क्षेत्र बिँग्रनुको प्रमुख जिम्मेवारी पत्रकार पनि रहेको बताए । उनी भन्छन्, ‘निर्माताले आफ्नो चलचित्रले गरेको सत्यतथ्य व्यापार लुकाएर भ्रामक समाचार बाहिर ल्याउँदा चलचित्र क्षेत्र बिँग्रदै गएको छ । यसमा जति दोषी निर्माता छन् त्यति नै दोषी पत्रकार पनि छन् । भ्रामक समाचारले नयाँ निर्माता बजार नै नबुझि फिल्म निर्माणमा होमिन्छन् । यसले न उनीहरुलाई जोगाउँछ न त चलचित्र क्षेत्रलाई फाइदा पुग्छ ।’


अध्यक्ष उदयको कुरामा चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी पनि सहमत देखिए । उनले भ्रामक समाचारकै भरमा फिल्ममा लगानी गर्नुभन्दा पहिले बजार बुझ्न सुझाए । चलचित्र क्षेत्र बिँग्रदो अवस्थाको जिम्मेवार कलाकारहरु पनि रहेको बताउँदै उनले भने- ‘चलचित्र क्षेत्र बिँग्रदो अवस्थामा पुग्नुको कारण कलाकारले आफू को हुँ भन्ने चिन्न नसक्नु पनि हो । हाम्रा कलाकारहरु जहाँ पनि सजिलै उपलब्ध हुन्छन् । जुनसुकै माध्यममा सजिलै भेटिन्छन् । अनि तिनै कलाकारलाई हेर्न हलमा गएर दर्शकले टिकट किन काट्छन् ?’


कलाकारले पारिश्रमिक बढाउँदा आफ्नो कारणले लगानी कति उठ्छ भनेर सोच्न आवश्यक रहेको पनि उनको तर्क छ । कार्यक्रममा बोल्दै आयोजक संस्था चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटाले पत्रकारले वितरक, निर्माता र हलवालाको सुचनाको आधारमा समाचार बनाउने गरेको हुँदा मिडियामा भ्रामक समाचार देखिनुमा यी पक्षहरु पनि उतिक्कै दोषी रहेको बताए । उनले भने- ‘पत्रकारले सही सुचना पाउने ब्यवस्था सबै पक्षबाट हुनुपर्छ । यसका लागि सबै इमान्दार हुन आवश्यक छ ।’


संघका सचिव समीर बलामीले सञ्चालन गरेको कार्यक्रममा निर्देशक दीपाश्री निरौला, निर्देशक दीपेन्द्र के. खनाल, निर्माता माधव वाग्ले, वितरक तथा निर्माता गोपालकाजी कायस्थ, निर्माता अर्जुन कुमार, निर्देशक मुस्कान ढकाललगायत उपस्थित थिए । कार्यक्रममा उपस्थित अतिथी र पत्रकारबीच सवाल-जवाफ पनि चलेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu