समीक्षक भन्छन्, ‘‘कलंक’ ले निराश बनाउँछ’’



बलिउड चलचित्र ‘कलंक’ को चर्चा भारतसँगै नेपालमा पनि उतिक्कै छ । विश्वारभर यो चलचित्र बुधवारबाट प्रदर्शनमा आएको छ । तर, नेपालमा भने रिलिज भएन । नेपालमा शुक्रवारबाहेक अरु दिन चलचित्र प्रदर्शन गर्न पाइने नियम छैन । यद्यपि, वितरकले भने यो चलचित्र बुधवार नै रिलिज गर्न ठूलै राजनीति गरेका थिए । तर, बोर्ड अध्यक्ष केशव भट्टराईले सेन्सरका लागि अनुमती नै दिएनन् ।

यो चलचित्र नेपालमा शुक्रवार प्रदर्शनमा आउने सम्भावना छ । तर, चलचित्रलाई प्राप्त रिभ्यूले भने नेपालका वितरकलाई नराम्रोसँग तर्साएको छ । चलचित्रलाई राम्रो प्रतिक्रिया मिलेको छैन । भारतका अधिकांश चलचित्र समीक्षकले चलचित्रलाई कमजोर भनेका छन् । भारतीय दर्शकले पनि चलचित्र खासै रुचाएका छैनन् । भारतका प्रख्यात ट्रेड एनालिस्ट तरण आदर्शले २ रेटिङ दिँदै यसलाई निराशाजनक चलचित्र भनेका छन् ।

उनले आफ्नो आधिकारिक सामाजिक सञ्जालमा फिल्मको पहिलो हाफ कमजोर र दोस्रो हाफ केही हेर्न लायक रहेको लेखेका छन् । चलचित्रले दर्शकको अपेक्षा पूरा नगर्ने उनको भनाई छ । अन्य फिल्म समीक्षकले पनि ‘कलंक’ लाई कमजोर चलचित्रको पगरी गुथाएका छन् ।

फिल्म अपेक्षाकृत नबनेको प्रतिक्रिया आएपछि नेपालका वितरक करोडौं खन्याएर उक्त फिल्म नेपाल ल्याउने वा नल्याउनेमा दोधार देखिएका छन् । चलचित्रबारे आएको नकारात्मक समीक्षाले ठूलो अपेक्षा बोकेका नेपाली दर्शकको ‘कलंक’ प्रति चासो मरेको छ । अब जोखिम मोलेर नेपालका वितरकले यो चलचित्र नेपाल रिलिज गर्लान् वा नगर्लान् ? प्रतिक्षा गर्नैपर्ने हुन्छ ।

वरुण धवन, आलिया भट्ट, सञ्जय दत्त, सोनाक्षी सिन्हा, माधुरी दीक्षित र आदित्य रोय कपूरको यस चलचित्रमा प्रमुख भूमिका छ । माधुरी र सञ्जयले २० वर्षपछि सँगै यो फिल्ममा काम गरेका हुन् । यो एक पिरियड ड्रामा चलचित्र हो, जुन १९४० को ब्याकड्रपमा बनाइएको हो । यो चलचित्र करणको ड्रिम प्रोजेक्ट बताइएको छ । चलचित्रले पहिलो दिन भारतमा २३ करोड छाप्ने अनुमान छ । यसका निर्देशक अभिषेक वर्मन हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu