‘जात्रै जात्रा’ मा सुन काण्डको कथा : अफिसियल ट्रेलर रिलिज



‘जात्रा’ र ‘शत्रु गते’ फेम्ड निर्देशक प्रदीप भट्टराई निर्देशित नयाँ चलचित्र ‘जात्रै जात्रा’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा कमेडी हाबी छ । अभिनेता दयाहाङ राई हराएको सुन खोज्दै देखिएका छन् । भने, विपिन कार्की, रबिन्द्र झा र रबिन्द्र सिंह बाँनिया सुन लुकाउन संघर्ष गरिरहेका छन् । ट्रेलरमा रबिन्द्रले बोलेका कमेडी संवाद रमाइला छन् ।

यो चलचित्र करीब २ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘जात्रा’ को सिक्वेल हो । दुई चलचित्रको कथामा खासै भिन्नता देखिन्न । पहिलो भागमा भेटाएको पैसा लुकाउन पात्रहरुले गर्ने संघर्षको कथा थियो । ‘जात्रै जात्रा’ मा भेटाएको सुन लुकाउन र धनी बन्ने लोभमा चलचित्रका प्रमुख पात्रहरु देखिएका छन् । यद्यपि, ट्रेलर इङ्गेजिङ छ । ट्रेलरले चलचित्रको राम्रो हाइप निर्माण गर्ने आशा गर्न सकिन्छ । यो चलचित्रको ‘माया पिरती’ गीत अहिले चर्चामा छ ।


सार्वजनिक ट्रेलरमा अभिनेत्री वर्षा राउत, कलाकार राजाराम पौडेललाई पनि राम्रो ‘स्क्रिन स्पेश’ मिलेको छ । यो चलचित्रका कार्यकारी निर्माता रविन्द्र सिंह बनियाँ हुन् । चलचित्रमा यज्ञश्वर पौडेल र सिंगे लामाको लगानी छ । मित्र डि. गुरुङको सम्पादन रहेको फिल्मलाई शिवराम श्रेष्ठले खिचेका हुन् । हिट चलचित्र ‘जात्रा’ को सिक्वेल भएका कारण यो चलचित्रप्रति दर्शकमा निकै ठूलो अपेक्षा छ । चलचित्र जेठ ३ गतेबाट मुलुकभर प्रदर्शनमा आउँदैछ ।

यस चलचित्रमा प्रकाश घिमिरे, अञ्जु महर्जन, सोहित मानन्धर, सुस्मिता कार्की, प्रेम पाण्डे, प्रियंका झालगायतका कलाकारहरुको पनि अभिनय छ । यसमा शंकर महर्जन द्वन्द्व निर्देशन छ । निर्देशक भट्टराई आफैंको कथा रहेको चलचित्रमा कालीप्रसाद बाँस्कोटा र कृष्ण भारद्वाजको संगीत छ । ट्रेलरबाट चलचित्रमा अभिनेता दयाहाङ नेगेटिभ रोलमा हुनसक्ने अनुमान लगाउन गाह्रो पर्दैन । उनी यो चलचित्रको अघिल्लो पार्टमा थिएनन् ।

ट्रेलर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu