झरना र सुहानालाई ‘ए मेरो हजुर ३’ ले दिएको खुसी (फोटोफिचर)



दशक अगाडिको सुपरहिट चलचित्र ‘ए मेरो हजुर’ लाई अहिले अभिनेत्री झरना थापाले सिरिजको रुपमा अगाडि बढाएकी छन् । यही चलचित्रको दोस्रो पार्टबाट उनले निर्देशनमा डेब्यू गरिन् । चलचित्रमा अभिनेत्री साम्राज्ञी आरएल शाह र अभिनेता सलिनमान बनिया लिड रोलमा थिए । नेपालमा हिट चलचित्रका सिरिजहरु राम्रो चलिरहेको अवस्थामा ‘ए मेरो हजुर २’ ले पनि लोभलाग्दो व्यापार गर्‍यो ।

सफल अभिनेत्रीको रुपमा आफूलाई स्थापित गरिसकेकी झरनाले निर्देशनमा पनि सफलता हासिल गरिन् । त्योभन्दा पनि ठूलो कुरा उनले ‘ए मेरो हजुर’ को साख गिर्न दिइनन् । नयाँ छिमलका युवापुस्तामा चलचित्रको गजबको क्रेज निर्माण गरिन् । यो चलचित्रको सफलतापछि झरना फिल्म ‘भागवत गीता’ बनाउन कसिइन् । तर, वितरकले ‘ए मेरो हजुर ३’ बनाउन सल्लाह दिएपछि उनले पनि नयाँ नाममा चलचित्र बनाउन जोखिम उठाइनन् ।

ब्रान्ड नाम बनिसकेको ‘ए मेरो हजुर’ को तेस्रो सिरिज गत वर्षको चैत २९ गतेबाट प्रदर्शनमा आएको छ । यसलाई झरनाले निर्देशन गरेकी हुन् । यो चलचित्रबाट उनले आफू हिँडेको बाटोमा छोरी सुहानालाई पनि ल्याएकी छन् । अर्थात् सुहानाले यस चलचित्रमा प्रमुख भूमिका निभाएकी छन् । अभिनेता अनमोल केसी उनको अपोजिटमा छन् । यो चलचित्रले प्रदर्शनको दुई हप्ता आकर्षक व्यापार गर्‍यो ।

पहिलो हप्ताको व्यापारबाटै निर्माता सुनिल कुमार थापाको लगानी सुरक्षित भएको थियो । दुई हप्तासम्ममा चलचित्रले कुल ७ करोड ८४ लाखको व्यापार गरेको छ । चलचित्र बक्सअफिसमा ब्लकबस्टर साबित भइसकेको छ । यो अनमोल केसीको करिअरको सबैभन्दा धेरै कमाउने चलचित्र समेत बनेको छ । शुक्रवारबाट चलचित्र तेस्रो हप्तामा प्रदर्र्शनरत छ । यो चलचित्रबाट झरनाकी छोरी सुहानाले राम्रो सम्भावना देखाएकी छन् ।

‘ए मेरो हजुर ३’ मा अनमोलको भन्दा सुहानाको भूमिका र अभिनय पावरफूल छ । चलचित्रमा उनले अनमोललाई पूरै छायाँमा पारेकी छन् । धेरैको उनको अभिनयलाई चमत्कारी बताएका छन् । जबरजस्त अभिनयले डेब्यू चलचित्रबाटै लोभलाग्दो फ्यान फलोइंग बनाएकी उनको अब दोस्रो चलचित्र कुन हुनेछ भन्ने धेरैलाई चासो छ । फेरि घरकै चलचित्र गर्छिन् वा बाहिरको ? उनका प्रशंसक जान्न इच्छुक छन् ।


प्राप्त जानकारी अनुसार, निर्देशक झरना ‘ए मेरो हजुर ३’ को सफलतापछि अब पाइपलाइनमा रहेको प्रोजेक्ट ‘भागवत गीत’ सुरु गर्ने सोचमा छिन् । तर, वितरकले भने ‘ए मेरो हजुर ४’ बनाउन आग्रह गरिरहेका छन् । केही दिनमा झरनाले छोरी सुहानाको जन्मदिनमा नयाँ चलचित्र घोषणा गर्न लागेको स्रोत बताउँछ । ‘ए मेरो हजुर ४’ वा ‘भागवत गीत’ मध्ये एकमा सुहाना हुने प्रवल सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu