सौगात भन्छन्, ‘यस वर्ष बिहे हुँदैन’



प्रायः सेलिब्रेटी प्रेम सम्बन्ध लुकाउन गर्दछन् । तर, यो मामलामा अभिनेता सौगात मल्ल र अभिनेत्री तथा पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ भने उदार छन् । गएको दुई वर्ष अगाडि नै उनीहरुले प्रेम सम्बन्धको खुलासा गरेर आफूहरुलाई सहज बनाएका थिए । प्रेममा परेपछि यी दुईले पहिलो पटक चलचित्र ‘मासु भात’ मा काम गरेका थिए । यसपछि उनीहरुले अभिनय गरेको चलचित्र हो, ‘पोइ पर्‍यो काले’ ।

बक्सअफिसमा असफल साबित भएको यो चलचित्र गएको कात्तिकमा प्रदर्शनमा आएको थियो । अब, चाँडै उनीहरु निर्देशक मधुसुदन भट्टराइको चलचित्रमा काम गर्दैछन् । त्यस्तै, यही मंसिर २० गते सौगातको प्रमुख भूमिका रहेको चलचित्र ‘माछा माछा’ को एक गीतमा सृष्टिले ठुम्का लगाएकी छन् । प्रेममा परेपछि सौगात र सृष्टिको चलचित्रमा ‘ब्याक टू ब्याक’ सहकार्य भैरहेको छ ।

सौगातले आफू अनुबन्ध भएको चलचित्रमा सृष्टिलाई अभिनेत्रीको रुपमा सिफारिस गर्ने गरेको चर्चा छ । तर, यो कुरा दुबै नकार्छन् । मेकरले नै आफूहरुलाई एकसाथ चलचित्र अप्रोच गर्ने उनीहरुको भनाई छ । आजसम्म कुनै चलचित्रमा आफूहरुले एकअर्कालाई सिफारिस नगरेको सौगात र श्रृष्टि दाबी गर्छन् । तर, एकअर्कासँग चलचित्रमा काम गर्न रमाइलो लाग्ने उनीहरु सुनाउँछन् ।

केही हप्ता अगाडि सृष्टिसँग सौगात यूके पुगेका थिए । त्यहाँ सृष्टिको माता-पिता बस्ने गर्दछन् । विवाहका लागि सृष्टिको हात माग्न सौगात यूके पुगेको चर्चा छ । तर, उनी यो कुराको खण्डन गर्छन् । मंगलबार पत्रकारसँगको एक भेटमा उनले यसअघि नै सृष्टिको परिवारसँग विवाहको विषयमा कुराकानी भैसकेको बताए । तर, विवाहको मिति फाइनल नभएको उनको भनाई छ ।

उनले मुस्कुराउँदै भने, ‘सृष्टिको परिवारसँग सामान्य भेटघाट गर्नका लागि यूके पुगेको थिएँ । तर, हात माग्नकै लागि चाहिँ थिएनँ । यसअघि नै उहाँहरुले विवाहको मन्जुरी दिइसक्नु भएको छ ।’ अभिनेता सौगातले यसै वर्ष एकबाट दुई हुने सम्भावना नरहेको बताए । ‘बिहे गर्ने मनस्थितिमा चाहिँ हामी दुबै छौं । तर, यसै वर्ष हुँदैन । अर्को वर्षका लागि तयारी भैरहेको छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu