‘माया पिरिम’ बाट आशावादी कोशिश



अभिनेता तथा संगीतकार कोशिश क्षेत्री अभिनीत नयाँ चलचित्र ‘माया पिरिम’ यही मंसिर २० गतेबाट प्रदर्शनमा आउँदैछ । यसबाट उनी निकै आशावादी छन् । किनकि, उनी अभिनीत अघिल्ला कुनै चलचित्र चलेका छैनन् । यो चलचित्रको ‘फोटो खिचेर’ बोलको गीत अहिले चर्चामा छ । जसमा उनी आफैंले संगीत भरेका छन् । चलचित्रमा उनको जोडी नव-अभिनेत्री किरण चन्दसँग बाँधिएको छ ।

उनी ‘माया पिरिम’ लाई मेनस्ट्रिम चलचित्र भन्न रुचाउँछन् । ‘चलचित्रमा कमेडी पञ्चहरु एकदमै राम्रो छ । स्क्रिप्ट पढ्दा म थुप्रै ठाउँमा हाँसेको थिएँ । चलचित्रमा एक्सन र लभस्टोरी पनि छ । दर्शकलाई चलचित्रले निराश बनाउँछ जस्तो मलाई लाग्दैन । तर, दर्शकले मलाई अघिल्ला चलचित्रभन्दा फरक क्यारेक्टरमा चाहिँ पाउनुहुन्न’, उनले भने । उनी दर्शकलाई एकपटक चलचित्र हेर्न आग्रह गर्छन् ।

‘माया पिरिम’ को कथावस्तु राम्रो लागेर काम गर्न राजी भएको उनको कथन छ । ‘निर्माता प्रविन (थापा) दाईले यो चलचित्रभन्दा अगाडि पनि मलाई एउटा फिल्म अफर गर्नुभएको थियो । तर, त्यो चलचित्रको कथामा मैले आफूलाई फिट नदेखेपछि हात उठाएको थिएँ,’ उनी अगाडि भन्छन्, ‘यो चलचित्रको कथा चाहिँ मलाई साँच्चै मनपर्‍यो र टिम पनि राम्रो लागेपछि काम गर्न राजी भएँ ।’

टेक पौरखी राईको निर्देशनमा बनेको ‘माया पिरिम’ को कार्यकारी निर्मातामा सागर बस्नेत र कोषराज दाहाल रहेका छन् । त्यस्तै, प्रविन थापा र सविन अधिकारी निर्माता र मोहन मरासैनी र युवराज दाहाल चलचित्रका सह-निर्माता हुन् । निरज कँडेलले खिचेको चलचित्रमा कोशिश र किरणका अलावा विशाल पहारी, कालु राना, जयनन्द लामा, अर्जुन गुरुङलगायतको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu