हलमा ‘माछा माछा’ र ‘माया पिरिम’



शुक्रबारबाट हलमा दुई नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् । सुनिल गुरुङको निर्देशनमा बनेको क्राइम-कमेडी जनरामा निर्माण भएको चलचित्र ‘माछा माछा’ र टेक पौरखी राई निर्देशित लभस्टोरी चलचित्र ‘माया पिरिम’ ले शुक्रबारबाट प्रदर्शन थालेका हुन् । ‘माछा माछा’ मा सौगात मल्ल, विजय बराल, अनोज पाण्डे, माओत्से गुरुङ, नम्रता श्रेष्ठको प्रमुख भूमिका छ ।

गएको असोज अन्तिममा प्रदर्शनमा आएको चलचित्र ‘छ माया छपक्कै’ पछि कुनै चलचित्रले हलमा दर्शक तान्न नसकेको अवस्थामा यो चलचित्रले खडेरी लागेको नेपाली चलचित्रको व्यापार चलायमान बनाउने अपेक्षा लिइएको छ । बुधबार राजधानीमा अयोजना गरिएको प्रिमियरमा चलचित्रले सुखद प्रतिक्रिया बटुलेको थियो । चलचित्रलाई रामबाबु गुरुङ र दयाहाङ राईले निर्माण गरेका हुन् ।

सिनेमा आर्ट र नौमती इन्टरटेनमेन्टको व्यानरमा निर्मित ‘माछा माछा’ को सह-निर्मातामा ओमचन्द्र रौनियार र अर्जुन कार्की छन् । चलचित्रमा अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन र प्रविन सिंहको कोरियोग्राफी छ । चलचित्रमा दयाहाङ अतिथी भूमिकामा छन् । तीन बेरोजगार युवाले पैसा कमाउन गर्ने दौडधुपमा चलचित्र आधारित छ । शिवराम श्रेष्ठले चलचित्र खिचेका हुन् ।

त्यस्तै, ‘माया पिरिम’ मा अभिनेता कोशिश क्षेत्री र नव-अभिनेत्री किरण चन्द प्रमुख भूमिकामा छन् । चलचित्रका कार्यकारी निर्मातामा सागर बस्नेत र कोषराज दाहाल हुन् । प्रविन थापा र सविन अधिकारी निर्माता र मोहन मरासैनी र युवराज दाहाल सह-निर्माता रहेको चलचित्रमा विशाल पहारी, कालु राना, जयनन्द लामा, अर्जुन गुरुङलगायतको अभिनय छ । निरज कँडेलले चलचित्र खिचेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Bharatmani Regmi

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu