‘पासवर्ड’ निर्माताको बलिउड चलचित्रमा को-को छन् ?



नेपाली चलचित्र ‘पासवर्ड’ को गीतमा बलिउड अभिनेत्री सन्नी लियोनीलाई नृत्य गराएको कम्पनी एबी इन्टरनेशनलको बलिउड चलचित्र ‘लैला मन्जु’ को छायांकन सुरु भएको छ । निर्माताद्वय अमित बस्नेत र अजित केआर थापाले निर्माण गर्ने चलचित्रलाई प्रेमराज सोनीले निर्देशनको जिम्मेवारी सम्हालेका छन् । यसअघि उनले ‘इश्क इन पेरिस’ नामक बलिउड चलचित्र निर्देशन गरेका थिए ।

जनवरी २ बाट लण्डनमा छायांकन सुरु भएको यो चलचित्रमा कलाकारको लाइनअप बलियो छ । बलिउड सुपरस्टार सलमान खानकी कथित प्रेमिका, मोडल तथा गायिका युलिया भन्तुरसँगै फरिदा जलाल, शशांक व्यास, अभिमन्यु टोमर, नेहाल चुडास्मा, जेसी लिभर, महेश मंजेकर, जिम्मी शेर्गिल, रजित कपूर, निकी अनेजालगायतको पनि ‘लैला मन्जु’ मा अभिनय रहनेछ ।

हृडोय डेका मुख्य सहायक निर्देशक रहेको चलचित्र २०२० मा रिलिज हुने निर्माता अमित बस्नेतले जानकारी दिए । चलचित्रको सम्पूर्ण छायांकन लण्डनमा हुनेछ । एबी इन्टरनेशनलसँग निर्माणमा डि.एन.ए पिक्चर्सले सहकार्य गरेको छ । चलचित्र ठूलो बजेटमा निर्माण गरिने बताइएको छ । एबी इन्टरनेशनलले निर्माण गरेको नेपाली चलचित्र ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनको लागि तयार छ ।

त्यस्तै, यो कम्पनीले निर्माण गर्न लागेको अर्को बलिउड चलचित्र ‘वेलकम टु लण्डन’ को पनि यसै वर्ष (२०२०) बाट छायांकन हुँदैछ । यसमा चार नेपाली र बलिउड कलाकारको अभिनय रहने जानकारी प्राप्त छ । एबी इन्टरनेशनलले चलचित्र निर्माणसँगै वितरणमा पनि हात हालिसकेको छ । यो कम्पनीले गएको महिना बलिउड चलचित्र ‘मरजावा’ को नेपाल वितरण अधिकार लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu