मेरो पहिरनको टिप्पणी कमेडियनहरुले गरेका हुन् : रेखा थापा



अभिनेत्री रेखा थापाले पहिरन हेरेर नेपाली समाजले चरित्र मुल्यांकन गर्ने गरेको बताएकी छन् । पत्रकार तथा लेखक डिबी खड्काद्वारा लिखित पुस्तक ‘नियत’ को विमोचन कार्यक्रममा बोल्दै उनले पहिरन हेरेर कसैको चरित्रको मुल्यांकन गर्नु गलत रहेको बताइन् । परिहनको आधारमा चरित्र मापन गर्नु नहुने उनको तर्क छ ।

‘कोही महिलाले छोटो पहिरन लगाउँदैमा, स्विमिङ कस्ट्युम लगाउँदैमा वा हातमा बियरको बोतल लिँदैमा उसलाई चरित्रहीन भनिन्छ । हिरोइनको पहिरन किन यति बिघ्न चरित्र नाप्ने यन्त्र हुन्छ ?’, उनले प्रश्न गरिन् । एक समय उनीमाथि कमेडियनहरुले ‘कि रेखाको चल्छ कि देखाको चल्छ’ भनेर व्यंग्य गर्थे । अभिनेत्री रेखाको लुगा सलाईको डिब्बामा अट्छ भन्ने टिप्पणी पनि हुन्थ्यो ।

गाइजात्रामा हास्यकलाकारहरुले दर्शक हँसाउनका लागि आफ्नो पहिरनलाई लिएर टिप्पणी गर्ने गरेको रेखाले सुनाइन् । उनले हास्यकलाकारहरुलाई व्यंग्यात्मक शैलीमा भनिन्, ‘कि रेखाको चल्छ कि देखाको भन्ने गाइजात्रामा कमेडियनहरुले भनेका हुन् । दीपकराज (दाई) गिरीले दर्शक हँसाउन रेखा होइन देखा थापा भनेर भन्नुभएको थियो । उहाँ एकदमै राम्रो कमेडियन हुनुहुन्छ ।’

पहिरनमाथि टिप्पणी हुने चलन गाइजात्राबाट सुरु भएको अभिनेत्री रेखाको भनाई छ । अभिनेत्रीको पहिरनमाथि हुने टिप्पणीको सम्बन्धमा अभिनेत्री स्वस्तिमा खड्काले परिहनको चर्चा हुँदा आफूहरुको काम ओझेलमा परेको भन्दै गुनासो गरिन् । सञ्चारमाध्यमलाई हिरोइनहरुको पहिरनको बारेमा चासो हुने हुँदा उनीहरुको काम छाँयामा पर्ने गरेको उनको कथन छ ।

‘नियत’ पुस्तकको विमोचन अभिनेत्री त्रय रेखा थापा, स्वस्तिमा खड्का र लक्ष्मी वर्देवाले गरेका थिए । खराब मानिसका कारण नेपाली चलचित्र क्षेत्रमा महिलाहरुले भोग्नु परेको दुर्व्यवहारको कथा पुस्तकमा उतारिएको छ । अभिनेत्री रेखाले पुस्तक पढिरहँदा धेरै अनुहार आँखा अगाडि आएको बताइन् । पुस्तकका यथार्थ कथाले आफूलाई एकपटक सोच्न बाध्य बनाएको उनी बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Bharatmani Regmi

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu