‘लभ डायरिज’ अभिनेत्री रुविनाको तर्क- ‘फिल्म दुनियाँमा अटाउन गाह्रो’



आउँदो फागुन २ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको लभस्टोरी-कमेडी जनरामा निर्माण भएको चलचित्र ‘लभ डायरिज’ बाट रुविना थापाले अभिनयमा डेब्यू गर्दैछिन् । चलचित्रको ‘सुन्यौ कि सुनेनौ तिमीले’ र ‘छमछम’ बोलको गीतमा उनको सुन्दरता, हाउभाउ र एक्सप्रेसनलाई दर्शकले रुचाएका छन् । अब, चलचित्रमा उनको अभिनय कस्तो भन्ने चासो धेरैमा छ ।

यो चलचित्रमा रुविनाको जोडी ह्यान्डसम हंक सुशील श्रेष्ठसँग बाँधिएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरियो । ट्रेलर सार्वजनिक कार्यक्रममा उनले आफूलाई दर्शकले अभिनेत्रीको रुपमा स्वीकार गर्नेमा आशावादी रहेको बताइन् । आफ्नो भूमिकालाई न्याय गर्न कुनै कसर नछाडेको बताउँदै उनले चलचित्र राम्रो बनेको पनि बताइन् ।

डेब्यू चलचित्र रिलिज नहुँदै उनले नेपाली चलचित्र क्षेत्रमा टिक्न सजिलो नभएको पनि महशुस गरिसकेकी रहेछिन् । उनले कार्यक्रममा भनिन्, ‘मेरो फिल्मी ब्याकग्राउन्ड नभएकाले चलचित्रमा प्रवेश गर्न सजिलो थिएन । यो चलचित्रबाट अभिनेत्री बन्ने सपना त पूरा भयो तर फिल्मी दुनियाँमा अटाउन गाह्रो छ । यद्यपि, म आफूलाई प्रमाणित गर्नका लागि अभिनयमा मिहिनेत गर्न छाड्ने छैनँ ।’

सौरभ चौधरी निर्देशित चलचित्रमा विश्वजित रिमाल, बिष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारीलगायतका कलाकारहरुको पनि अभिनय छ । युवा-युवतीबीचको माया-प्रेम र कमेडीलाई चलचित्रमा देखाइएको निर्देशक चौधरी बताउँछन् । चलचित्र मनोरञ्जनात्मक मात्र नभएर सन्देशमुलक पनि रहेको उनको भनाई छ । यो चलचित्रमा विनोद सापकोटाको मुख्य लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Bharatmani Regmi

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu