घर सेटअप र बिहेको तयारीमा प्रियंकाको व्यस्तता



भ्यालेनटाइन डेको दिन नेपाली फिल्मका ‘लभ बर्डस्’ प्रियंका कार्की र आयुष्मान देशराज जोशीले विवाहको मिति सार्वजनिक गर्दैछन् । उनीहरु यही फागुनमा विवाह गर्दैछन् । उनीहरु यही वर्षको असारमा विवाह गर्ने तयारीमा थिए । तर, विदेशमा रहेका परिवारका सदस्यहरुको समय नमिलेपछि विवाह सरेको थियो । असारमा विवाह नभएपछि प्रियंकाले यस वर्ष बिहे नहुने बताउँदै आएकी थिइन् ।

गएको महिना आफ्ना केही निकट साथीहरुसँग ब्याचलर पार्टी मनाउन थाइल्याण्ड उडेपछि भने प्रियंकाले यसै वर्षको फागुनमा विवाह गर्न लागेको चर्चा चलेको थियो । हालै हुनेवाला श्रीमान् आयुष्मानसँग यूरोप टुर भ्याएर स्वदेश फर्किएकी प्रियंकाले विवाहपछि पनि आफू नेपाली फिल्ममा सक्रिय रहने बताएकी छन् । अहिले आफू विवाहको तयारीमा लागेको उनको भनाई छ ।

बुधवार आफू अभिनीत फिल्म ‘लक्का जवान’ को ‘मुसुक्कै हाँसन माया’ बोलको गीत सार्वजनिक कार्यक्रममा पत्रकारको प्रश्नको जवाफ दिँदै प्रियंकाले भनिन्, ‘हालै म र आयुष मिलेर काठमाडौंमा घर किनेका छौं । घर सेटअपले कति टाइम लिँदो रैछ भन्ने मैले बल्ल थाहा पाएँ । त्यसैले अहिले मामुहरु मसँगै हर बखत सँगै हुनुहुन्छ । घर सेटअप एक्लैले त गर्न नसक्ने चिज रहेछ ।’

केही दिनयता आफू घर सेटअप र विवाहको तयारीमा व्यस्त रहेको उनले बताइन् । विवाहको तयारीकै लागि ‘लक्का जवान’ पछि आफूले कुनै चलचित्र साइन नगरेको पनि अभिनेत्री प्रियंकाको भनाई छ । उनले अगाडि भनिन्, ‘अहिले मैले कुनै चलचित्र साइन गरेको छैन । विवाह अगाडिसम्म म कुनै प्रोजेक्टमा आबद्ध हुन्नँ । तर, चैतको पहिलो हप्ताबाटै म फेरि काममै फर्किन्छु ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu