कोरोनाका कारण ‘ए मेरो हजुर ४’ को छायांकन रोकियो



२०७७ सालको दशैंको फूलपातीमा आउने तयारीमा रहेको बहुप्रतिक्षीत अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा अभिनीत बहुप्रतिक्षीत चलचित्र ‘ए मेरो हजुर ४’ को छायांकन रोकिएको छ । विश्वभर फैलिएको कोरोना भाइरसको प्रभावका कारण केही दिनका लागि चलचित्रको छायांकन रोकिएको अभिनेत्री तथा निर्देशक झरना थापाले फेसबुकमा स्टाटस लेखेर जानकारी दिएकी छन् ।

‘मानव जातीलाई नै चुनौती बनिरहेको कोरोना संक्रमणबाट बच्न, सतर्कता अपनाउन हामी सबै एकजुट हुनैपर्छ । यसबाट कलाकार, प्राविधिकहरुमा पर्न गएको असुविधाप्रति हामी सजग छौं । आफ्नो स्वस्थ र जीवनभन्दा ठूलो केही हुन सक्दैन । हामी छिट्टै फेरि पहिले जस्तै सहज जीवनशैलीमा हुनेछौं,’ उनले लेखेकी छन् । झरना थापाको ‘ए मेरो हजुर ४’ तेस्रो निर्देशन हो ।

पोखरामा छायांकन सकेर हालै निर्माण टिम राजधानी फर्किएको थियो । ४० प्रतिशत छायांकन पूरा भैसकेको चलचित्रको बिहीवारसम्म पाटनमा छायांकन भैरहेको थियो । बुधवार सरकारले सिनेमा हल बन्द गर्न र २५ जनाभन्दा बढी भेला नहुन निर्देशन दिएपछि ‘ए मेरो हजुर ४’ को छायांकन रोकिएको हो । किनकि, चलचित्रको सुटिङमा ४० जनाभन्दा बढी व्यक्ति खटिएका थिए ।

चलचित्रमा अनमोल र सुहानासँगै सलोन बस्नेत, सरोज खनाललगायतका कलाकारहरुको अभिनय छ । चलचित्रमा अभिनेता अनमोलले पालेको कुकुर कोकोको पनि अभिनय रहेको छ । सञ्जय लामाले चलचित्र खिच्ने जिम्मेवारी पाएका छन् । नेपाल छायांकन पूरा भएपछि यूरोप र ओमानमा चलचित्रको गीत खिचिँदैछ । चलचित्रको निर्माण लागत डेढ करोड नाघ्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Bharatmani Regmi

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu