कोरोनाका कारण ‘२ नम्बरी’ छायांकन स्थगित



विश्वभर डरलाग्दो रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपाली चलचित्र क्षेत्र समेत प्रभावित भएको छ । सरकारले आउँदो बैशाख १८ गतेसम्मलाई सिनेमा हल बन्द गर्ने निर्णय गरेपछि बैशाख दोस्रो हप्तासम्म प्रदर्शनका लागि तयारी अवस्थामा रहेका सबै चलचित्रको रिलिज पोस्टपोन्ड भएको छ भने २५ जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला नहुन गरेको निर्णयपछि छायांकनरत चलचित्रको सुटिङ पनि प्रभावित भएको छ ।

केही दिनअघि कोरोनाका कारण चलचित्र ‘ए मेरो हजुर ४’ टिमले छायांकन स्थगित गरेको थियो । यसबीच, दीपेन्द्र लामा निर्देशित चलचित्र ‘२ नम्बरी’ को छायांकन पनि अनिश्चितकालका लागि रोकिएको छ । सोमबारबाट चलचित्रको छायांकन स्थगित भएको निर्देशक लामाले फेसबुकमार्फत् जानकारी दिएका छन् । स्थिति सामान्य भएपछि चलचित्र पुनः फ्लोरमा जाने उनले बताए ।

अभिनेता पल शाह र अभिनेत्री वर्षा राउत भान्सामा भलाकुसारी गरिरहेको क्यामेरामा कैद एक दृश्य सामाजिक सञ्जाल फेसबुकमा साझेदार गर्दै निर्देशक लामाले लेखेका छन्, ‘अशान्त मन र मस्तिष्क लिएर काम गर्न गाह्रो हुने भएकाले ‘२ नम्बरी’ चलचित्रको छायांकन हाललाई रोकेका छौं । स्थिति सामान्य हुने वित्तिकै छायांकन यथावत गर्नेछौं ।’ चलचित्रको कथा उनी स्वयंको हो ।

रेड वर्ड र आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुने चलचित्रमा दयाहाङ राई, उगेन छोदेन (भुटानी अभिनेत्री), पल शाह, वर्षा राउत, बुद्धि तामाङलगायतका कलाकारहरुको अभिनय रहनेछ । अर्को वर्षको जनै पूर्णिमामा रिलिज हुने चलचित्रको निर्मातामा रोहित कट्टेल र सरोज नेपाली रहेका छन् भने प्रस्तुतकर्ता किरण नेपाली हुन् । रत्न श्रेष्ठ चलचित्रको कार्यकारी निर्माता हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Bharatmani Regmi

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu