वर्षाले ‘नाइँ नभन्नू ल ६’ गर्ने



यही चैत अन्तिम साताबाट फ्लोरमा निस्कन लागेको चलचित्र ‘नाइँ नभन्नू ल ६’ को छायांकन कोरोना भाइरसको त्रास साम्य नभएसम्मका लागि रोकिएको छ । यद्यपि, निर्देशक विकासराज आचार्यले चलचित्रका लागि कलाकारको छनोट भने लगभग पूरा गरिसकेका छन् । अनुभव रेग्मी, सेड्रिना शर्मा, सलोन बस्नेतले अभिनय गर्ने निश्चित भैसकेको चलचित्रमा तीन अभिनेत्री हुनेछन् ।

तीन अभिनेत्रीमध्ये एक अभिनेत्रीको नाम प्राप्त भएको छ । ‘नाइँ नभन्नू ल ६’ मा अभिनेत्री वर्षा राउतले अभिनय गर्ने फाइनल भैसकेको छ । उनले यही चलचित्रको चौथो श्रृंखलाबाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । उनी दोस्रो पटक ‘नाइँ नभन्नू ल’ सिरिजसँग जोडिन लागेकी हुन् । यद्यपि, उनी चलचित्रमा अनुबन्ध भएको जानकारी भने निर्माण टिमले दिएको छैन ।

यस वर्ष प्रदर्शनमा आएको चलचित्र ‘जात्रै जात्रा’ पछि करीब ७ महिना अभिनेत्री वर्षा राउतले कुनै चलचित्र साइन गरेकी थिइनन् । राम्रो स्क्रिप्टको पखाईमा रहेका कारण चलचित्र साइन गर्न नहतारिएको उनको भनाई थियो । तर, मिडियामा विवाहपछि चलचित्र पाउन छाडेको भन्ने गसिपहरु आउन थालेपछि उनले गएको दुई महिना अगाडि एक हप्ताको अन्तरमा दुई चलचित्र साइन गरिन् ।

ती दुई चलचित्र थिए, ‘२ नम्बरी’ र ‘के घर के डेरा’ । ‘लकडाउन’ हुनुभन्दा अगाडिसम्म अभिनेत्री वर्षा ‘२ नम्बरी’ को छायांकनमा व्यस्त थिइन् । अब स्थिति सामान्य नभएसम्म यो चलचित्रको छायांकन पुनः सुरु हुनेछैन । यो चलचित्रपछि उनले ‘के घर के डेरा’ का लागि समय निकाल्नु पर्नेछ । तर, यो चलचित्रसँग ‘नाइँ नभन्नू ल ६’ को छायांकन सेड्युल जुध्न भएपछि वर्षा यतिबेला तनावमा छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Bharatmani Regmi

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu