८५औं जन्मजयन्तीमा झलकमानलाई सम्झिँदा



काठमाण्डौ। आज स्व. लोक गायक झलकमान गन्धर्वको ८५औँ जन्मजयन्ती हो । वि.सं. १९९२ वैशाख १२ गते बाटुलेचौर पोखरामा जन्मेका उनि हिमाल खबर पत्रिकाको ‘सय वर्षका एक सय एक नेपाली’को प्रभावशाली सूचीमा ८२ औं स्थान प्राप्त गरेका गायक हुन् । उनको निधन वि. सं. २०६० मङ्सिर ६ गते भएको थियो । उनि पिता दुर्गाबहादुर गन्धर्व र माता भागीरथी (मकैडाली) गन्धर्वको कोखबाट जेष्ठ सुपुत्रका रुपमा जन्मेका थिए ।

दोस्रो विश्वयुद्धमा वीरता प्रदर्शन गरी बेलायत सरकारबाट त्यहाँको प्रशिद्ध सम्मान ‘भिक्टोरिया क्रस’ प्राप्त गरेका गोर्खाको गुरुङ बस्तीका गजे घले र अन्य लाहुरेको सम्मानमा झलकमानका बुबा ‘दुर्गाबहादुर मिझार (गन्धर्व) ले लय र शब्द संकलन गरेको गीत ‘हे बरै, आमाले सोध्लिन् नि खै छोरा भन्लिन्’ २०२३ सालको रेडियो नेपालले आयोजना गरेको लोकगीत प्रतियोगितामा गाएर प्रथम भएका झलकमान गन्धर्व नेपाली लोक संगीतका ४ दशकका झलक हुन् । तत्कालिन नेपालका राजा श्री ५ महेन्द्रबाट झलकमानलाई स्वर्णपदकसहित १ हजार नगद पुरस्कारसमेत प्रदान गरिएको थियो । त्यसपछि उनले रेडियो नेपालमै सारंगी र मादल वाद्यवादकका रुपमा उनले जागिर खान थालेका थिए ।

फोटो: साहित्यकार भूपेन्द्र खड्काको फेसबुकबाट साभार

झलकमानले नेपाली गन्धर्व संगीतलाई कर्खा (कसैको कार्यको लागि प्रशंसा गर्ने गीत), झ्याउरे, ख्याली लगायतका लोक गीतका भाकालाई जीवन्त बनाउन योगदान दिएका छन् । तत्कालिन समयमा सरकारले कर्खा गीत गाउन बन्देज लगाएको थियो किनकी कर्खा गीतमा सरकारको भन्दा बढी देशका वास्तविक नायकहरुको चर्चा हुने गर्दथ्यो । त्यसपछि कर्खा गीत लगभग हराउने अवस्था आईसकेको थियो । सोहि समयमा झलकमानले ‘भिक्टोरिया क्रस’ प्राप्त गरेका गजे घले सहित बीस लाहुरेको चर्चा र सम्झना गर्दै कर्खा गीत गाएका हुन् ।

झलकमानले पोखराको बाटुलेचौरबाट रेडियो नेपाल हुँदै भारत, जर्मनी, स्वीट्टजरल्याण्ड, पेरिस, युगोस्लाभिया लगायतका देशहरुमा सारंगी र अरबाजो बजाएर नेपाली संगीतको झलक प्रस्तुत गरेका थिए । उनले गाईने गीत अथवा गन्धर्व संगीतलाई प्रख्यात गराउनमा मुख्य योगदान पुर्‍याएका थिए । आफ्नो सम्पूर्ण जीवन गन्धर्व गीतको संकलन, परिमार्जन तथा प्रस्तुतीमा लगाएका झलकमानले गन्धर्व संगीत, जुन नेपालका गाईने समुदायका मानिसहरूले मात्र गाउने गर्दछन्, पहिलोपल्ट रेकर्ड तथा रेडियोबाट प्रसारण गर्ने काम गरेका थिए ।

झलकमानले गन्धर्व समुदायका अन्य सदस्यहरूले जस्तै बाल्यकाल (नौ बर्ष) देखिनै आफ्नो सांगीतिक जीवन सुरू गरेका थिए । उनले आफ्नो पिताबाट प्रारम्भिक चरणमा गीत गाउन, नाच्न र सारंगी बजाउन सिकेका थिए । उनले आफ्नो व्यवसायिक जीवनको सुरूमा अन्य गन्धर्वहरू जस्तै गाउँ घुम्दै गाईने गीत गाउँथे । पछि, लोकगायक धर्मराज थापाको सहयोगले उनले वि.सं. २०२४ देखि रेडियो नेपालमा गायकको रूपमा सेवा सुरू गरेका थिए । रेडियो नेपालमा झलकमानका २५० भन्दा बढी गीत रेकर्ड भएका छन् । उनका ११ गीत संकलित “झलकमान गन्धर्वका लोकगीतहरु” नामक एल्बम म्युजिक नेपालद्वारा बजारमा वितरित छ । उनका ‘आमाले सोध्लिन् नि खै छोरा भन्लिन्’, ‘डाँफे चरी’, ‘अल्लारे नानी’, ‘राधा पियारी’, ‘खाँउ त भने’, ‘चाँचरी गीत’, ‘बाला जोवन’ लगायत दर्जनौँ गीतहरु चर्चित छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu