नेपालमा चलचित्र पत्रकारिताको इतिहास र वर्तमान



(यस ठुलोपर्दा डटकमका कार्यकारी सम्पादक जीवन पराजुलीद्वारा लिखित मिति २०७५ मंसिर २९ मा गोरखापत्र दैनिकमा प्रकाशन भएको यस लेखलाई पुन: सम्पादन गरि प्रकाशन गरिएको ।)

सर्वसाधारणले चलचित्र हेर्न पाउने गरी वि.सं. २००६ मङ्सिर २७ गते काठमाडौँ सिनेमा घर खुला गरिएको थियो, जसलाई पछि जनसेवा सिनेमा घर भन्न थालियो । सर्वसाधारणले चलचित्र बारेमा थाहा पाउन भनेर प्रचारको शुरुवात गरियो । चलचित्र भवन परिसरमा बसेर चलचित्रको कथा नै सुनाएर प्रचार गर्न थालियो । चलचित्रको कथा सुनेर चित्रमा हेर्नका लागि सर्वसाधारण चलचित्र हल जान्थे । यो नै चलचित्रबारे सूचना र प्रचारको पहिलो प्रयास थियो ।

वि.सं. २००७ मा रेडियो नेपालको स्थापना भए पनि चलचित्रको विज्ञापनमा भने अंकुश लगाइएको थियो । केही वर्ष रेडियो नेपालले चलचित्रसम्बन्धी गतिविधिलाई समाचार सामग्रीमा कुनै पनि स्थान दिएन । २०११ सालदेखि अरू चलचित्र हलहरू पनि राजधानीमा थपिन थाले । त्यो बेला गृह मन्त्रालयबाट एकै पटक १३ वटा चलचित्र हलले प्रदर्शनको अनुमति पाएका थिए । त्यही समयमा चलचित्रसम्बन्धी पहिलो पत्रिका ‘सिनेमा’ प्रकाशित भयो । औपचारिक रूपमा चलचित्र पत्रकारिताको शुरुवात यहीँबाट भयो ।

नेपाली चलचित्र पत्रकारिता हिन्दी चलचित्र ‘औलाद’ को समीक्षाबाट शुरु भएको थियो । ‘सिनेमा’ पत्रिकामा २०११ सालमा उक्त फिल्मको समीक्षा प्रकाशित भएको थियो । नेपालमा चलचित्रको विविध पक्षलाई समेटेर लेखिएको पहिलो लेख भने ‘सिनेमा र यसको प्रयोग’ हो । साहित्यकार एवं वरिष्ठ साहित्य समालोचक स्व. कृष्णचन्द्रसिंह प्रधानले लेखेको उक्त लेख ‘सिनेमा’ पत्रिकामा नै छापिएको थियो ।

पछि ‘सिनेमा’ पत्रिकाले बाहेक अन्य केही पत्रिकाले पनि चलचित्रसम्बन्धी समाचारलाई स्थान दिन थाले । पत्रिकामा नै चलचित्रको पूरै कथा प्रकाशित गरी सर्वसाधारणलाई चलचित्रप्रति आकर्षित गराउने काम गरिन्थ्यो । त्यसरी छापेवापत पत्रकारलाई निःशुल्क चलचित्र देखाइन्थ्यो । त्यसपछि रेडियो नेपालले पनि विस्तारै चलचित्रको विज्ञापन बजाउन थाल्यो । त्यो क्रम गोरखापत्रसम्म फैलियो ।

तत्कालीन समयमा हरेक तीन दिनमा एकपटक गोरखापत्र प्रकाशन हुन्थ्यो । २०११ साल साउन २९ गते प्रकाशित गोरखापत्रमा हिन्दी चलचित्र ‘शिशम’को विज्ञापन छापिएको थियो, जुन पत्रिकामा प्रकाशित पहिलो चलचित्रको विज्ञापन रहेको भेटिन्छ । विज्ञापनमा किशोर शर्मा निर्देशित उक्त चलचित्रको श्यामश्वेत पोस्टर राख्दै छेउमा लेखिएको थियो, ‘जनसेवामा – श्रावण २८ गतेदेखि भिडभाडको साथ चलिरहेछ । आजै हेर्नुस् !’

२०११ सालपछि गोरखापत्रले चलचित्रको समाचारलाई उचित स्थान दिन नसकेको देखिन्छ, यद्यपि ‘पुलिस समाचार’ नामक कोलममा भने चलचित्रका टिकट ब्ल्याकमा बिक्री गरेकालाई दण्डित गरिएका समाचार भने भेटिन्छन् । २०११ साल जेठ ३२ गते ‘सिनेमा टिकटमा कालो बजार’ शीर्षकमा जनसेवा चलचित्र भवन, नयाँसडकको समाचार प्रकाशित छ । साउन २२ गतेको गोरखापत्रमा शीर्षकविना नै ‘पुलिस समाचार’ मा ब्ल्याकमा टिकट बिक्रीको समाचार प्रकाशित छ । यो क्रम निकै पछिसम्म चलेको देखिन्छ । यी समाचार चलचित्र पत्रकारिताभन्दा पनि अपराधसँग सम्बन्धित देखिएका छन् । जे जसरी भए पनि चलचित्रलाई गोरखापत्रले स्थान दिएको देखिन्छ ।

नेपालमा चलचित्र सम्बन्धित गतिविधि कम भएको कारण पनि नेपाली चलचित्रको समाचारलाई त्यतिबेला सक्रिय सञ्चार गृहले कम प्राथमिकता दिएको देखिन्छ । सोही समयमा बलिउडका कलाकारको गतिविधि भने प्रकाशित भएका छन् । २०११ साल भदौ ३० गते प्रकाशित गोरखापत्रमा ‘सिनेकलाकारद्वारा चन्दा सङ्ग्रह बाढी पीडितहरूका निम्ति’ शीर्षकमा एक समाचार प्रकाशित छ । मुम्बइबाट लिखित उक्त समाचारमा नरगिस, राजकपुर, दिलीपकुमार लगायतका कलाकारले ‘बाढी पीडित सहायता दिवस’को दिन जुलुस निकालेर जनताको ढोका ढोकामा पुगेर सहयोग अपील गरेको उल्लेख गरिएको छ ।

तत्कालीन शाही नेपाल चलचित्र संस्थानले बनाएको चलचित्र ‘मनको बाँध’ बारे तत्कालीन मन्त्री रमेशनाथ पाण्डेले लेखेको समाचार नेपाली चलचित्र पत्रकारितामा पहिलो मानिन्छ । पछि नेपाली चलचित्रका समीक्षाहरू पनि प्रकाशित हुन थाले । २०४१ मङ्सिर १५ बाट प्रकाशन आरम्भ भएको ‘कामना’ ले नेपाली चलचित्र पत्रकारितामा महìवपूर्ण भूमिका खेलेको छ । कामनाको पहिलो अङ्कमा चलचित्र ‘कान्छी’ की नायिका शर्मिला शाहलाई फिचर गरिएको थियो । उनको अन्तर्वार्ता प्रकाशित गर्दै शीर्षक दिइएको छ, ‘हेरू विधाताले मलाई कहाँसम्म पु¥याउने छ – शर्मिला शाह’ । तत्कालीन समयमा चलिरहेका दुई नेपाली चलचित्र ‘कान्छी’ र ‘आदर्श नगरी’को बारेमा चर्चा गरिएको छ । त्यस्तै, बलिउड सुपरस्टार मिथुन चक्रवर्तीले ‘बक्सर’ चलचित्रका लागि नेपाली सङ्गीतकारद्वय शम्भूजित बासकोटा र शुभबहादुरलाई अनुबन्धित गरेको समाचार प्रकाशित छ । नेपाली सङ्गीतकारको दक्षता देखेर मौका दिइएको उक्त समाचारमा उल्लेख छ । समाचारमा नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा मिथुनको साथमा बलिउड स्टार शत्रुघन सिन्हा पनि सहभागी रहेको उल्लेख गरिएको छ । साथै, नेपाली चलचित्रहरू ‘के डेरा के घर’को ८५ प्रतिशत छायाङ्कन सम्पन्न भएको, ‘बासुदेव’ चलचित्रको छायाङ्कन सकिएको तथा ‘सम्झना’ चलचित्रको डबिङ भइरहेको समाचार कामनाको प्रथम अङ्कमा प्रकाशित गरिएको थियो ।

कामनाको रजत (२५) अङ्कमा एकसाथ ‘सिलु’, ‘साइनो’ र ‘मायालु’ गरी तीन चलचित्रको शुटिङ रिपोर्ट प्रकाशित थिए जुन नेपाली चलचित्र जगतको पहिलो शुटिङ रिपोर्टहरू मान्न सकिन्छ । उक्त रिपोर्ट कामना प्रकाशन गृहकै अध्यक्ष तथा वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठ र वरिष्ठ पत्रकार विजयरत्न तुलाधरले लेखेका थिए ।
टेलिभिजनमा चलचित्र पत्रकारिताको इतिहास खोज्दा २०४१ देखि नेपाल टेलिभिजनको प्रसारण आरम्भ भएपछि नेपाली चलचित्रका गीतहरू समेटेर ‘गीताञ्जली’ नामक कार्यक्रम प्रशारण भएको तथ्य भेटिन्छ । तर, नियमित रूपमा भने नेपाली चलचित्रसम्बन्धी समाचार र सूचना प्रसारण गरिएको पहिलो कार्यक्रम ‘सयपत्री’ थियो । यो कार्यक्रमलाई चलचित्र पत्रकार सङ्घ नेपालका संस्थापक अध्यक्ष भरत शाक्यले सञ्चालन गरेका थिए ।

चलचित्र पत्रकार सङ्घ नेपाल
२०४६ सालको परिवर्तनपछि सञ्चार माध्यमहरू खुल्ने क्रम बढ्दै गयो । चलचित्र पत्रकारितामा संलग्न पत्रकारहरूको सङ्ख्या पनि वृद्धि हुँदै गयो । व्यावसायिक चलचित्र पत्रकारले सङ्गठित हुनुपर्ने आवश्यकता महसुस गरेपछि २०५६ सालमा पेशागत सङ्गठनको रूपमा नेपालभरका चलचित्र पत्रकारहरूको छाता सङगठन ‘चलचित्र पत्रकार सङ्घ’ को स्थापना भयो । त्यसकै निरन्तरताको रूपमा अहिले ‘चलचित्र पत्रकार सङ्घ नेपाल’ बनेको छ । सङ्घ २१ औँ वर्षमा आइपुग्दा एक सय ३४ जना चलचित्र पत्रकार केन्द्रमा सदस्य छन् भने सङ्घले विभिन्न शाखासमेत विस्तार गरिसकेको छ ।

चलचित्र पत्रकारिताको वर्तमान
प्रजातन्त्र स्थापना भएको दुई दशक नबित्दै नेपालमा चलचित्र पत्रकारिताले सम्मानयोग्य फड्को मारिसकेको छ । प्रविधि अकल्पनीय गतिमा अगाडि बढिरहेको छ । पछिल्लो दशक प्रविधिको दशक बनेको छ । न्यु मिडियाको विकाससँगै चलचित्र पत्रकारिताले पनि ठूलो फड्को मारेको छ । पत्रिका र काँचको पर्दामा सीमित समाचार अहिले हरक्षण सबैको हात हातमा पुगेको छ । चलचित्रसम्बन्धी न्यूज पोर्टलमात्र पचासौँको सङ्ख्यामा छन् भने अनलाइनमा भिडियो पत्रकारिताले पनि उत्तिकै प्रभाव पारिरहेको छ । समाचारलाई भिडियो सामग्रीको रूपमा हेर्न अहिले भित्तामा टाँगिएको टेलिभिजनकै मात्र भर पर्नु पर्दैन । सूचना र समाचारका लागि निर्धारित समय पर्खिनुपर्ने जरुरत पनि न्यु मिडियाले टारिदिएको छ । विभिन्न अनलाइन तथा पत्रपत्रिकाले चलचित्र तथा कलासम्बन्धी छुट्टै पृष्ठमा नै स्थान दिइरहेका छन् । टेलिभिजनले पनि चलचित्रसम्बन्धी छुट्टै कार्यक्रम प्रसारण गरिरहेका छन् ।
(लेखक चलचित्र पत्रकार सङ्घ नेपालका केन्द्रिय उपाध्यक्ष हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Bharatmani Regmi

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu