कसरी खोल्यो महाराष्ट्रले फिल्मको शूटिंग अनुमती ?



कोरोना भाईरसको महामारीका बीच संसार नै लकडाउनमा जानुपर्ने बाध्यात्मक अवस्था आइपर्यो । कतिपय देशले संकटकाल देखाउँदै लकडाउनलाई केहि खुकुलो बनाउँदै आर्थीक गतिविधी अगाडी बढाएका छन् । नेपालमा दुई महिना यता पूर्ण लकडाउन छ । जसको कारण सम्पूर्ण क्षेत्र बन्द छन् । फिल्म तथा संगीत क्षेत्र पनि ठप्प छ । कुनै फिल्म छायांकनको बीच मै रोकिएका छन्, कुनै फिल्म तयारी गरेर रोकिएका छन् भने केहि फिल्महरु रिलीजको मूखमा आएर रोकिएका छन् । मनोरंजन क्षेत्रले संसारभर अपुरणिय क्षति भोगेको छ ।

भारतमा पनि लकडाउन चलिरहेको छ । यद्यपी त्यहाँ केहि क्षेत्रलाई खुकुलो पारिएको छ । यसैबीच उक्त देशको महाराष्ट्र सरकारले फिल्म तथा टेलिभिजन शोको शूटिंग सशर्त खुल्ला गरेको छ । भारतको सबैभन्दा ठुलो फिल्म उद्योग बलीउड पनि महाराष्ट्रमा केन्द्रित छ । महाराष्ट्रसँगै भारतका अन्य राज्यहरुले पनि शूटिंगलाई खुल्ला गर्न सक्ने अनुमान गरिएको छ ।

बलीउड सुपरस्टार अक्षय कुमारले आर बाल्कीसँग मिलेर सोमबार मुम्बईको कमलिस्तान स्टुडियोमा लकडाउनकै बीच एक सार्वजनिक सेवा विज्ञापन खिचेका थिए । उक्त विज्ञापनका लागि शुट गर्न अनुमति लिइएको थियो र सेटमा सामाजिक दूरी कायम गर्दै सावधानीपूर्वक शूटिंग गरिएको थियो । शूटिंगको समयमा २० जनाको उपस्थिती रहेको थियो ।

महाराष्ट्रले कस्ता शर्तमा शूटिंग अनुमती दियो ?
फिल्म तथा टिभी सिरिजकोको सेटमा केहि निमयहरु लगाईएको छ । शूटिंग सेटमा हात मिलाउन, गला मिल्न तथा चुम्बन गर्न मनाही गरिएको छ । अरुको मेकअप प्रयोग गर्न पाईने छैन । हरेक दिन कपडा धुनु पर्नेछ भने शूटिंगमा प्रयोग हुने सामानहरुमा पनि कटौती गर्नुपर्नेछ ।

नयाँ गाइडलाइनका अनुसार ६५ बर्ष भन्दा माथी उमेर समूहका मानिसहरु, गर्भवती महिला, कलाकार वा स्टाफका पार्टनर शूटिंग सेटमा जान पाउने छैनन् । हरेक सेटमा डाक्टरहरु, नर्स र एम्बुलेन्स हुनु जरुरी छ । यदि कोहिमा कोरोना पोजेटिभ देखियो भने तुरुन्त उपचार गर्नुपर्नेछ ।

सेटमा हरेक तवरले सफा हुनु पर्नेछ । शोशल डिस्टेंसिंगको पालना अनिवार्य गरिएको छ । एक टेन्टमा पाँच बढि मानिसहरु रहन पाउने छैनन् । फिल्म वा सिरिजमा समावेश हुने बढि मानिसहरु जम्मा हुनुपर्ने दृश्यहरु खिच्न मनाही गरिएको छ । जस्तै: विवाहको दृश्य ।

कुनै पनि सेटमा ३३ प्रतिशत मात्र स्टाफले काम गर्ने पाउने नियम लगाईएको छ । हरेक सदस्यले सेटमा प्रवेश गर्नु पहिले आफ्नो हात साबुन पानीले धुनु पर्नेछ । सेटमा आउने बेला यात्रा गर्दा लगाएको कपडा परिवर्तन गरि नयाँ लगाउन पर्नेछ साथै जुत्ता चप्पल र मोजा समेत नयाँ प्रयोग गर्नुपर्नेछ ।

गाइडलाइनका अनुसार सकेसम्म कास्टिंग, लुक टेस्ट तथा मिटिंग भिडियो कन्फ्रेन्सबाट गर्न अनुरोध गरिएको छ । हरेक कलाकारले सम्भव भएसम्म आफ्नै घरमा तयार भएर सेट जान भनिएको छ । एक कलाकारले एकजना मात्र मेकअप तथा हेयर डिजाइनरको रुपमा सहयोगी लैजान पाउनेछन् ।

कलाकारलाई घरबाट नै खाना लिएर सेटमा जान सल्लाह दिइएको छ । सेटमा जुनियर आर्टिस्ट कम प्रयोग गर्नुपर्नेछ । सबै सदस्यले परिचय पत्र बोक्न अनिवार्य गरिएको छ । साथै उनिहरुले यात्रा गर्न प्रहरीको अनुमती लिनु पर्नेछ ।

कलाकारहरुले कस्ट्यूम आँफैले लैजानु पर्नेछ । हरेक कलाकारको लागी अलग अलग मेकअप ब्रश तथा हेयर ब्रशको प्रयोग गर्नुपर्नेछ । मेकअपको समयमा मेकअप आर्टिस्टले पिपिई लगाउन अनिवार्य गरिएको छ ।

नेपाली फिल्मका विभिन्न संघसंस्थाहरुले पनि संयुक्त रुपमा यस्तै प्रकारका गाइडलाईनहरु बनाएर छायांकनको लागी सरकारसँग अनुमती लिने प्रयास गर्नुपर्ने देखिएको छ । तुरुन्तै नभएपनि नेपाली फिल्म चलाएमान हुन सकेन भने गम्भीर संकट बेहोर्नुपर्ने हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu