कलाकारलाई व्यावसायिक भूमिका निर्वाह गर्न निर्माता वाग्लेको आग्रह



अभिनेता पल शाहले कलाकारले वर्षौंसम्म चलचित्रमा काम गरेको पारिश्रमिक पाउने नगरेको बताएपछि अहिले यस विषयमा चलचित्रकर्मीहरुले आफ्नो भनाई राखिरहेका छन् । तर, ‘लुट’ निर्माता माधव वाग्लेले सबै निर्मातालाई एउटै भाडामा राख्न नमिल्ने बताएका छन् । मिडियाबाजी गरेर समस्याको समाधान नहुने भन्दै यसले निर्माता र कलाकारबीच दूरी बढाउने उनको भनाई छ । निर्माताबाट कलाकार पीडित भए निर्माता संघमा उजुरी दिन उनले आग्रह गरेका छन् ।

कलाकारहरुले पनि व्यावसायिक भूमिका निर्वाह गर्नुपर्ने बताउँदै उनले फेसबुकमा लेखेका छन्, ‘यहाँ चल्तीका व्यावसायिक कलाकारहरुले उचित पारिश्रमिक लिएर पनि व्यवसायिक भूमिका निर्वाहा नगर्ने, एउटा चलचित्रको लागि सेड्युल मिलाएर अर्कोमा गइदिने, पारिश्रमिक लिएर फोन अफ गरेर बसिदिन्छन् । यो समय एकअर्का विरूद्धमा आरोप-प्रत्यारोपमा उभिने समय होइन ।’

कलाकारहरुले व्यक्तिगत जीवनमा हासिल गरेका सफलताको देन फिल्म क्षेत्र र निर्माता रहेको उल्लेख गर्दै उनले सबै निर्माताहरुलाई एउटै भाडामा राखेर मिडियामा अभिव्यक्ति नदिन आग्रह गरेका छन् । उनी अगाडि लेख्छन्, ‘यस क्षेत्रमा सबै निर्माता खराब र सबै असल छन् भन्ने हैन । यदी निर्माता खराब छ भने प्रमाणसहित सार्वजनिक गर्नुहोस् । त्यो तपाईंको अधिकारको कुरा हो ।’

पारिश्रमिक लिएपछि कलाकारले पनि व्यावसायिकताको आधारभूत सिद्धान्त पालना गर्नुपर्ने निर्माता वाग्ले बताउँछन् । चलचित्रमा अनुबन्धित हुँदा लिखित सम्झौता गर्नुपर्ने, सम्झौता अनुरूप राज्यले तोकेको कानुनी विधि पूरा गर्नुपर्ने र सम्झौताको मर्म अनुरूप फिल्मको अवधिभर व्यावसायिकपन देखाए अन्यायमा परेका कलाकारहरुको पक्षमा आफू पनि उभिने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu