रेखाको चलचित्र दयाहाङले नगर्ने ?



कोरोना भाइरसका कारण जारी लकडाउनपछि नेपाली चलचित्रको निर्माण र प्रदर्शन प्रभावित भएका छन् । तर, अब चलचित्र छायांकनका लागि सरकारले अनुमति दिनुपर्ने माग उठ्न थालेको छ । सरकारले छायांकनका लागि अनुमति दिए केही निर्माता तथा निर्देशक चलचित्र निर्माण गर्ने तयारीमा छन् । अभिनेत्री तथा निर्मात्री रेखा थापा पनि लकडाउन खुलेपछि नयाँ चलचित्रको छायांकन थाल्दैछिन् ।

सविर श्रेष्ठले निर्देशन गर्ने बेनामे चलचित्रको गएको बैशाखबाट छायांकन सुरु गर्ने तयारीमा निर्माण टिम थियो । तर, लकडाउनका कारण फिल्म फ्लोरमा जान सकेन । अब यो चलचित्रको छायांकन आउँदो भदौबाट हुँदैछ । अभिनेत्री रेखा भन्छिन्, ‘इन्डस्ट्रीका हजारौं कलाकार, प्राविधिक तथा अन्य जनशक्तिलाई लामो समय अन्योलमा राख्नु हुँदैन । प्रयाप्त सावधानी अपनाउँदै चलचित्र निर्माण गर्नुको अरु विकल्प छैन ।’

चलचित्रमा अभिनेता सौगात मल्लको मुख्य भूमिका रहनेछ । यो चलचित्रमा अभिनेता दयाहाङ राईको पनि अभिनय रहने बताइएको थियो । ठूलो पर्दालाई प्राप्त जानकारी अनुसार, आधा दर्जनभन्दा बढी चलचित्र पाइपलाइनमा भएकोका कारण उनले रेखाको चलचित्र नगर्ने भएका छन् । लकडाउन खुलेपछि उनले चलचित्र ‘दुई नम्बरी’ को बाँकी छायांकन भ्याउनेछन् ।

निर्देशक सविर श्रेष्ठले पनि चलचित्रमा दयाहाङ हुने भन्नेमा ठोकुवा गर्न सकेनन् । उनले भने ‘अहिले चलचित्रको कथामा केही परिवर्तन भएको छ । पुरानो स्क्रिप्टमा उहाँ हुनुहुन्थ्यो । परिवर्तित स्क्रिप्टमा उहाँलाई सुहाउने रोल हुन्छ वा हुँदैन यसै भन्न सकिन्न । यद्यपि, सौगात मल्लको भने चलचित्रमा अभिनय रहनेछ ।’ चलचित्रमा अभिनेत्री रेखा थापा स्वयंले मुख्य भूमिका निभाउँदैछिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu