अभिनेता गराच भन्छन्, ‘यहाँ नेपोटिज्म र ग्रुपिज्म दुवै छ’



नेपाली चलचित्र क्षेत्रमा नेपोटिज्म र ग्रुपिज्मको विषयमा बहस चर्किरहँदा अभिनेता यशराज गराचले चलचित्र क्षेत्रमा नेपोटिज्म र ग्रुपिज्म दुबै रोगबाट ग्रस्त रहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले पेशा अपनाउन सबैभन्दा सजिलो चलचित्र क्षेत्र रहेको बताउँदै २० सेकेण्डको अभिनय गरेर फलोअर्स बढाएपछि कलाकार हुन पाइने प्रवृतिप्रति पनि असन्तुष्टि व्यक्त गरे ।

उनले लेखेका छन्, ‘चलचित्र क्षेत्रमा आउन न पढाई चाहियो न सर्टिफिकेट । आफ्नो घर छेउमा कसैले कुनै इभेन्ट गर्छ, भाग लिनु । अझ जो सुकैसँगै एउटा फोटोसुट मात्र गर्नुस्, तपाईं मोडल । कुनै पनि एपमा गएर २० सेकेण्डको अभिनय गर्नुस् र फ्यान फलोअर्स बढाउनुस्, तपाईं एक्टर । तपाईले काम पाउन सुरु अनि २/३ वटा काम पाएर फेरि केही समय नपाउँदा डिप्रेसन सुरु ।’

कुनै पनि पेशा अपनाउन ७/८ वर्ष अध्ययन गर्नुपर्ने र कलाकारिता पेशा अपनाउने संकल्प लिएपछि ५/६ वर्ष संघर्ष गर्नुपर्ने उनको सुझाव छ । कुनै पनि क्षेत्रमा जानुभन्दा अगाडि त्यसको राम्रो न नराम्रो पक्षको बारेमा बुझ्न जरुरी रहेको पनि उनले बताएका छन् । अभिनेता गराच थप्छन्, ‘म हिरो-हिरोइन (मेन लिड एक्टर) नै बन्नु पर्छ भन्ने कुरा छाडेर आफूलाई राम्ररी मुल्यांकन गर्नुहोस् ।’

चलचित्र ‘स्वर’ बाट डेब्यू गर्दैगर्दा आफूमा पनि भयंकर अभिनय गर्नसक्छु भन्ने भ्रम रहेको उनको स्वीकारोक्ति छ । ‘मैले जम्मा ७/८ वर्ष र्‍याम्प मोडलिङ गरेको थिएँ । १२/१५ वटा शो कोरियोग्राफी गरेको थिए । ५ वर्ष टिभीमा प्रस्तोता भएँ । १०/१५ वटा स्टेज शो होस्ट गरेँ । २ भन्दा बढी म्यूजिक भिडियोमा खेलेको थिएँ र म भयंकर अभिनय गर्न सक्छु भन्ने भ्रम थियो,’ उनले लेखेका छन् ।

‘स्वर’ मा काम गरेपछि आफूमा रहेको भ्रम टुटेको उनको भनाई छ । जीवनभर सिकेर पनि अभिनय नसिकिने अनुभव सुनाउँदै उनले आफू अझै सिकिरहेको र जीवनभर सिकिरहने बताएका छन् । चलचित्र क्षेत्रमा नेपोटिज्म र ग्रुपिज्म रहेको तर्क पेश गर्दै उनले थपेका छन्, ‘हामीलाई कसले काम दिने भनेर सोच्नुभन्दा आफूलाई तयार पार्नुस्, सबै कुरा मज्जाले बुझ्नुस् र आउनुस् यो क्षेत्रमा ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu