मरिश्काले अभिनय गरेको बलिउड चलचित्र ‘यारा’ को टिजर रिलिज



नेपाली चलचित्रकी अभिनेत्री मरिश्का पोखरेलले अभिनय गरेको बलिउड फिल्म ‘यारा’ को टिजर सार्वजनिक भएको छ । एक्सन प्याक्ड टिजरमा मरिश्कालाई एक सेकेण्ड मात्र स्थान दिइएको छ । टिजरको ५२ सेकेण्डमा क्लबभित्र उनलाई एक युवकले चुम्बन गर्दै गरेको देख्न सकिन्छ । टिजरमा उनले पाएको स्क्रिन स्पेश हेर्दा चलचित्रमा उनको भूमिका सशक्त नभएको अनुमान गर्न सकिन्छ ।

टिजरमा एक सेकेण्ड देखिँदा पनि मरिश्का भने खुसी छिन् । उनले फेसबुकमा गएको पाँच वर्षदेखि आफू यो पलको प्रतिक्षामा रहेको बताएकी छन् । ‘यारा’ मा निभाएको चरित्रका लागि आफू अडिसनबाट छानिएको उनले उल्लेख गरेकी छन् । टिजरमा आफूलाई स्थान दिएकोमा निर्माण टिमलाई धन्यवाद दिँदै उनले यो चलचित्र आफ्नो लागि निकै महत्त्वपूर्ण रहेको बताएकी छन् ।

उनले लेखेकी छन्, ‘५ वर्ष अगाडि जब मैले २ वटा मात्र फेशन शो गरेको थिएँ, क्यामेराको कुनै अनुभव थिएन । आमाको सहयोगले मैले फिल्मको अडिसन दिएँ र तीन दिनपछि मलाई यो भूमिकामा छानिएको भनेर फोन आएको थियो । त्यसबेला मेरो खुसीको कुनै सीमा थिएन । यो प्रोजेक्ट मेरो लागि निकै महत्त्वपूर्ण छ । म विहानदेखि घरभन्दा बाहिर खुसीले उफ्रिरहेको छु ।’

‘यारा’ को केही प्रतिशत छायांकन नेपालमा समेत गरिएको छ । टिजरको १६ सेकेण्डमा भक्तपुर दरवार स्क्वायर क्षेत्रका दृश्य देख्न सकिन्छ । बलिउडका एक्सन स्टार विद्युत जामवालको प्रमुख भूमिका रहेको चलचित्रलाई तिग्मांशु धूलियाले निर्देशन गरेका हुन् । चलचित्रमा श्रुति हासन, अमित साध र विजय वर्माको पनि प्रमुख भूमिका छ । टिजरमा चार साथीको कहानी देखाइएको छ ।

ट्रेलर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu