‘प्रसाद’ को लिगेसीलाई लिएर हिँड्नु पर्छ मलाई लाग्दैन : दिनेश राउत



डेढ वर्ष अगाडिको सफल चलचित्र ‘प्रसाद’ को सिक्वेल निर्माण हुँदैछ । चलचित्रमा निर्देशन हेरफेर भएका छन् । दिनेश राउतले यसको पहिलो श्रृंखला निर्देशन गरेका थिए । अब ‘लभ डायरीज’ का निर्देशक सौरभ चौधरी निर्देशन गर्नेछन् । चलचित्रको कथा ‘प्रसाद’ कै लेखक शुशील पौडेलले लेखिरहेका छन् । सुवास थापाले निर्माण गर्ने चलचित्रमा नम्रता श्रेष्ठ, विपिन कार्की र निश्चल बस्नेत नै दोहोरिने चर्चा छ ।

‘प्रसाद २’ का लागि निर्देशकमा निर्माता थापाको पहिलो रोजाइ सौरभ थिएनन् । उनले दिनेशलाई नै चलचित्रको निर्देशन गर्न आग्रह गरेका थिए । तर, उनले अस्वीकार गरे । यसपछि निर्माता थापाले सौरभलाई अनुबन्ध गरेका हुन् । उनका अनुसार, दिनेश राउतको पाइपलाइनमा केही चलचित्र भएका कारण ‘प्रसाद’ गर्न नसकेका हुन् । तर, यो सजिलै विश्वास गर्न सक्ने कुरा होइन ।

के दिनेश राउतले व्यस्तताकै कारण ‘प्रसाद २’ नगरेका हुन् त ? यस बारेमा निर्देशक राउतले भनेका छन्, ‘मलाई ‘सेल्फी किङ’ भन्दा अगाडि नै निर्माताबाट ‘प्रसाद २’ को कुरा आएको थियो । स्क्रिप्ट राइटर शुशील पौडेलले सिक्वेल वा प्रिक्वेलका लागि केही कथा भेटेर चलचित्रमा संलग्न हुनुभयो होला । तर, मेरो व्यक्तिगत विचारमा चाहिँ ‘प्रसाद’ को लिगेसीलाई लिएर हिँड्नु पर्छ भन्ने लाग्दैन ।’

‘प्रसाद’ को अगाडि वा पछाडिको कथामा चलचित्र बनाउनु पर्छ भन्ने आफूलाई नलाग्ने उनको भनाई छ । उनी थप्छन्, ‘त्यो आफैंमा सुन्दर चिज बनेको छ । त्यो बनेको चिजलाई फेरि सिक्वेल वा प्रिक्वेलको रुपमा ल्याउनुपर्छ भन्ने मलाई व्यक्तिगत रुपमा लाग्दैन । तर, मलाई नलाग्दैमा त्यो लेखकलाई पनि लाग्दैन भन्ने होइन । उहाँले राम्रो चिज देख्नुभएको पनि हुनसक्छ ।’

आफूलाई ‘प्रसाद’ को लिगेसीलाई लिएर हिँड्नु पर्छ भन्ने नलागे पनि निर्माताले चलचित्रको सफलतालाई आत्मसात् गर्ने हिसाबमा सिक्वेल घोषणा गरेको हुनसक्ने उनको ठम्याइ छ । तर, आफूलाई त्यसको क्रेडिट लिएर अगाडि बढ्नु पर्ने नदेखेर चलचित्रमा आबद्ध नभएको उनले प्रस्ट्याए । ‘प्रसाद २’ ले समीक्षात्मक वा व्यवसायिक सफलता प्राप्त नगरे त्यसको असर ‘प्रसाद’ ब्रान्डमाथि पर्ने पनि उनको कथन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu