यी हुन् छायांकनमा जान तयार चलचित्र



गएको मंगलवारबाट चार महिना लामो लकडाउन अन्त्य भएसँगै विभिन्न क्षेत्र सञ्चालनमा आएका छन् । कोरोनाबाट अतिप्रभावित चलचित्र क्षेत्रमा भने सरकारले प्रतिबन्ध कायमै राखेको छ । सरकारबाट अर्को सूचना जारी नभएसम्म चलचित्र क्षेत्रमा कुनै प्रकारका गतिविधि हुने छैनन् । अरु क्षेत्र खोलेर यो क्षेत्रमा प्रतिबन्ध लगाउने सरकारको निर्णयको चलचित्रकर्मीले विरोध गरेका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले चलचित्र क्षेत्र चलायन बनाउन चलचित्र निर्माण र प्रदर्शन खुल्ला गर्ने विषयमा सरकारमा छलफल भइरहेको बताएका छन् । सरकारले यो निर्णय कहिले गर्ला भनेर चलचित्रकर्मीहरु कुरेर बसेका छन् । चलचित्र क्षेत्र खुल्ला भएसँगै केही निर्माता तथा निर्देशक फिल्म निर्माण गर्ने तयारीमा छन् । कुन-कुन चलचित्र छन् त फ्लोरमा जान तयार ?

निर्माता रोज राणाले भदौबाट चलचित्र ‘खलनायक २’ को छायांकन थाल्ने घोषणा गरिसकेका छन् । उनी कामविहीन प्राविधिकहरुका लागि भए पनि सरकारले चलचित्रको छायांकन खुल्ला गर्नुपर्ने बताउँदै आएका छन् । अभिनेत्री रेखा थापा पनि भदौबाट नयाँ चलचित्रको छायांकन सुरु गर्ने तयारीमा छिन् । सविर श्रेष्ठले निर्देशन गर्ने चलचित्रमा उनले सौगात मल्लसँग रोमान्स गर्दैछिन् ।

निर्माता मौनता श्रेष्ठ पनि भदौबाट चलचित्र ‘आँधी तुफान २’ को छायांकन थाल्ने सुरमा छन् । त्यस्तै, गएको बैशाखबाट निर्देशक सुरेन्द्र पौडेल चलचित्र ‘बाबरी क्याफे’ को छायांकन सुरु गर्ने योजनामा थिए । तर, चैतदेखि देश लकडाउन भयो । चलचित्र क्षेत्र खुलेपछि उनले पनि चलचित्रको छायांकन थालिहाल्नेछन् । चलचित्रमा अदिती बुढाथोकी र नितेशजंग कुँवरको जोडी बाँधिएको छ ।

निर्देशक विकासराज आचार्य पनि सरकारले छायांकन अनुमति दिएपछि चलचित्र ‘नाईं नभन्नू ल ६’ निर्माण गर्ने तरखरमा छन् । केही वर्षयता चलचित्र क्षेत्र हाँक्ने ड्राइभरको सिटमा रहेको दीपकराज गिरीको टिम पनि ‘छक्का पञ्जा ४’ को छायांकनका लागि तयार छ । ‘आइ एम ट्वान्टिवान’, ‘अल्लारे २’, ‘के घर के डेरा’ लगायतका चलचित्र पनि छायांकनमा जान तयारी अवस्थामा छन् ।

लकडाउन हुनुभन्दा अगाडि केही चलचित्र छायांकनरत थिए । ती चलचित्रका टिमले पनि सरकारले छायांकन अनुमति दिएसँगै बाँकी छायांकन थाल्नेछन् । ‘ए मेरो हजुर ४’, ‘परदेशी’, ‘दुई नम्बरी’ को लकडाउन भएपछि अधुरैमा छायांकन रोकिएको थियो । जसले गर्दा निर्मातालाई लाखौं घाटा भएको छ । चलचित्र क्षेत्र खुलेपछि प्रदर्शनका लागि पनि दर्जन बढी चलचित्र तयार छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu