दुईटा डुंगामा खुट्टा राखेर यात्रा गर्न चाहिनँ : रामकृष्ण ढकाल



रामकृष्ण ढकाल गायक मात्र होइनन् । उनले नेपाली चलचित्रमा समेत अभिनय गरिसकेका छन् । उनले अभिनय गरेको पहिलो चलचित्र ‘आर्शिवाद’ थियो । जसमा अभिनेता राजेश हमाल प्रमुख भूमिकामा थिए । यो चलचित्र रामकृष्णको जीवनमा आधारित थियो । उनले बाल्यकालमा गर्नुपरेको संघर्षलाई पर्दामा उतारिएको थियो । यसकारण चलचित्रमा उनी आफैंले अभिनय गरेका थिए ।

यो चलचित्र बक्सअफिसमा औसत चलेको थियो । मोफसलमा चलचित्र प्रदर्शन भएको एक हप्तामा दरबार हत्याकाण्ड र राजधानीमा प्रदर्शन हुने समयमा देशमा आपत्तकालिन समय लागू भएको थियो । जसले गर्दा चलचित्रले राम्रो व्यापार गर्न सकेन । यो चलचित्रपछि रामकृष्णले दोस्रो चलचित्र गरेनन् । कतिपयले पहिलो चलचित्र नचलेपछि उनले अभिनयबाट सन्यास लिएको टिप्पणी समेत गरे ।

तर, गायक ढकाल आफूले दुईटा डुंगामा खुट्टा राखेर यात्रा गर्न नखोजेको बताउँछन् । ‘आर्शिवाद’ पछि चलचित्र नगर्नुको कारणबारे उनले ठूलो पर्दासँगको अन्तर्वार्तामा भनेका छन्, ‘मैले चलचित्रमा अभिनय गर्छु भनेर कहिल्यै सोचेको थिइनँ । तर, मेरो संघर्षको कथामा चलचित्र बन्ने कुरा आएपछि म तयार भएको थिएँ । चलचित्र निर्माणको क्रममा धेरै पटक रोकियो । त्यसपछि बजेट पनि निकै बढ्यो ।’

उनले थपेका छन्, ‘चलचित्र मोफसलमा चलेको एक हप्तापछि दरबार हत्याकाण्ड भयो । राजधानीमा चल्ने बेलामा आपत्तकालिन लाग्यो । त्यो हुँँदाहुँदै पनि चलचित्रले राम्रो व्यापार गरेको थियो । त्यसबेलाको हिट चलचित्र नै हो ।’ यो चलचित्रपछि आफूलाई थुप्रै चलचित्रबाट अफर आएको उनी सम्झन्छन् । तर, संगीतमा समय दिनका लागि चलचित्रमा काम नगरेको उनको भनाई छ ।

‘आर्शिवाद’ को सुटिङ र प्रमोसनका लागि एक वर्षसम्म दौडिँदा गायन पेशालाई असर परेको सम्झँदै रामकृष्णले भनेका छन्, ‘दुईटा डुंगामा खुट्टा राखेपछि डुब्छ भनिन्छ । यसैले मलाई त्यो चलचित्र हिट नै हुनु थियो । र, भयो पनि । त्यसपछि अर्को चलचित्र गर्न मलाई चुनौती थियो । दोस्रो चलचित्र चलेन भने म्यूजिक करिअरलाई असर गर्छ भन्ने ठानेर चलचित्र अभिनयबाट टाढा नै बसेँ ।’

रामकृष्ण ढकालसँगको अन्तर्वार्ता हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu