दिक्पाल भन्छन्, ‘म कुनै ग्रुपसँग नजिक भइनँ’



केही हप्ता अगाडि नेपालमा चर्किएको नेपोटिज्म र ग्रुपिज्मको विषयमा बहसमा उत्रने अभिनेता हुन्, दिक्पाल कार्की । उनी आफू दुई चलचित्र गरेर पुनः मोडलिङमा फर्किनुको कारण पनि यसैलाई मान्छन् । दुई सयको आसपासमा म्यूजिक भिडियोमा काम गरिसकेका उनले चलचित्र ‘रंग बैजनी’ बाट लिड अभिनेताको रुपमा डेब्यू गरेका थिए । ‘च्याम्पियन’ उनको दोस्रो चलचित्र थियो ।

दुवै फिल्म असफल भएपछि दिक्पाल अभिनयमा सक्रिय छैनन् । अहिले उनी मोडलिङमा रमाइरहेका छन् । चलचित्र नगर्नुको कारण नेपोटिज्म र ग्रुपिज्म नै हो त ? उनले ठूलो पर्दासँगको फोनवार्तामा भने- ‘यदी म कुनै ग्रुपसँग नजिक भएको हुन्थेँ भने आज मोडलिङमा फर्किनु पर्दैन थियो होला । म कुनै ग्रुपसँग नजिक नै भइनँ । त्यसैले राम्रो मेकरबाट चलचित्र अफर भएन ।’

‘रंग बैजनी’ र ‘च्याम्पियन’ आफूले राम्रो चलचित्र भनेर गरेको भएता पनि असफल भएको उनी बताउँछन् । ‘मोडलिङ गरिरहँदा मलाई धेरै चलचित्रबाट अफर आएका थिएँ । यी दुई चलचित्र चाहिँ मेरो करिअरका लागि राम्रो हुनसक्छ भनेर गरेको थिएँ । तर, चलचित्र चलेन । यदी म कुनै ग्रुपसँग नजिक भएको हुन्थेँ भने फिल्म फ्लप हुँदा पनि मैले राम्रो चलचित्र पाइरहेको हुन्थेँ’, उनले भने ।

आफू ग्रुपिज्मको विरुद्धमा रहको बताउने दिक्पाल अब चलचित्रमा फर्किने सम्भावना न्यून रहेको बताउँछन् । दुई चलचित्रको असफलताले फिल्म क्षेत्रमा ‘फ्लप हिरो’ को ट्याग लागेकाले नयाँ चलचित्र गर्ने सम्भावना कम रहेको उनको भनाई छ । उनी भन्छन्, ‘मैले चलचित्र नगरेको झण्डै ६ वर्ष भइसक्यो । ग्रुपिज्मका कारण अब राम्रो चलचित्र नपाउन सक्छु । त्यसैले अब चलचित्र गर्दिनँ होला ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu